समाज

बालेनको जितबारे के भन्छन् बैंग्लोरमा उनलाई पढाएका प्राध्यापक ?

एजेन्सी
२०८२ फाल्गुन २५ | मध्यान्ह ०६:११ बजे

बैंग्लोर । नेपालको राजनीतिक वृत्तमा अहिले एउटा नाम निकै चर्चामा छ– बालेन शाह। र्‍यापरबाट राजनीतिमा होमिएर छोटो समयमै उदाएका उनी अब देशको भावी प्रधानमन्त्रीका रूपमा हेरिएका छन्। 

तर, धेरैलाई थाहा नहुन सक्छ, शाहले कुनै समय भारतको बैंगलोरस्थित निट्ठे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) मा अध्ययन गरेका थिए, जहाँबाट उनले स्ट्रक्चरल इन्जिनियरिङ (सिभिल इन्जिनियरिङको एक विधा) मा एमटेक गरेका हुन्।

निर्वाचन आयोगको घोषणाअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा-५ बाट संसदीय चुनाव जितेका छन्। उनले आफ्ना कडा प्रतिस्पर्धी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। रास्वपाले चुनावमा सानदार बहुमत हासिल गरेसँगै संसद्को तल्लो सदनमा प्रवेश पाएका बालेनको प्रधानमन्त्री बन्ने बाटो लगभग तय भएको छ।

एनडीटीभीसँगको विशेष कुराकानीमा, शाहलाई पढाउने एनएमआइटीका प्राध्यापकहरूले आफ्ना एक पूर्वविद्यार्थी नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उदाएको देख्न पाउँदा गर्व महसुस भएको बताएका छन्।

सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभी, जसले उनलाई मेकानिक्स अफ डिफर्मेबल बडिज र फाइनाइट एलिमेन्ट मेथड्सजस्ता विषय पढाएका थिए, शाहलाई एक अनुशासित र लक्ष्यप्रति केन्द्रित विद्यार्थीका रूपमा सम्झन्छन्। उनका अनुसार शाह सन् २०१६ मा अन्य दुई नेपाली विद्यार्थी सुनिल लम्साल र प्रवीण श्रेष्ठसँगै उक्त इन्स्टिच्युटमा भर्ना भएका थिए र उनीहरू कलेजको पहिलो अटोनोमस ब्याचका विद्यार्थी थिए।

‘उनी यो उचाइसम्म पुगेको देख्दा हामी धेरै खुसी छौँ। उनी धेरै समयपालक र आज्ञाकारी विद्यार्थी थिए। बालेन्द्र अलि शान्त स्वभावका थिए,’ प्राध्यापक श्रेयसले भने। 

उनले थपे, ‘शाहभित्र एउटा र्‍यापर लुकेको भए तापनि उनले कलेज परिसरमा त्यो पाटो विरलै देखाउँथे।’

रोचक कुरा के छ भने, इन्स्टिच्युटमा रहँदा शाहले कुनै स्पष्ट राजनीतिक झुकाव देखाएका थिएनन्। बरु, प्राध्यापकहरू उनलाई उनको शैक्षिक प्रतिबद्धताका लागि सम्झन्छन्। 

‘यहाँ विद्यार्थी हुँदा उनले प्रायः कुनै राजनीतिक झुकाव व्यक्त गर्दैनथे। तर पढाइमा उनी निकै गम्भीर थिए। उनीहरू धेरै जिज्ञासा बोकेर आउँथे र बेलुकाको समयमा समेत ती कुराहरू स्पष्ट पारेर मात्रै जान्थे,’ प्राध्यापक श्रेयसले स्मरण गरे।

एनएमआइटीका उपाध्यक्ष सन्दीप शास्त्रीले शाहलाई संस्थाको एक गौरवान्वित पूर्वविद्यार्थी मान्दै उनको यो उदयलाई विश्वविद्यालयका लागि ‘मुकुटको अर्को गहना’ को रूपमा वर्णन गरे।

‘हाम्रो जस्तो संस्थाका लागि यो ठुलो सम्मानको कुरा हो कि आठ वर्षअघि यहाँ पढेको व्यक्ति छिमेकी देशको सरकारको नेतृत्व गर्ने तहमा पुग्दैछ,’ उनले भने, ‘उनी एक मेहनती विद्यार्थी थिए जसले आफ्नो काम समयमै पूरा गर्थे, आफ्नो इन्टर्नसिप राम्रोसँग गर्थे र धेरै अनुशासित थिए। त्यतिबेला हामीसँग धेरै नेपाली विद्यार्थी थिए, र उनी अरूका लागि पनि प्रेरणाको स्रोत थिए।’

राजनीतिमा आउनुअघि शाह आफ्नो नेपाली र्‍याप संगीतका कारण निकै लोकप्रिय भएका थिए। यद्यपि, उनका प्राध्यापकहरूका अनुसार उनले कलेज परिसरमा कहिल्यै प्रस्तुति दिएनन् वा र्‍याप गाएनन्। 

उनको अधिकांश संगीत नेपाली भाषामा थियो र करिब २४ जना विद्यार्थी मात्र भएको सानो कक्षामा उनको त्यो कलात्मक पाटो धेरै हदसम्म गोप्य नै रह्यो।

तर, उनको एउटा शैक्षिक रुचि भने स्पष्ट थियो– भूकम्प इन्जिनियरिङ । शाहले यसै विषयसँग सम्बन्धित परियोजनाहरूमा काम गरे र नेपालमा ठुलो भूकम्प गएको समयतिर यसै क्षेत्रसँग जोडिएको इन्टर्नसिप पनि पूरा गरे। प्राध्यापकहरूका अनुसार यसले स्वदेश फर्केर समाजका लागि केही योगदान गर्ने उनको चाहनालाई प्रतिबिम्बित गर्थ्यो।

र्‍यापरबाट काठमाडौँको मेयर हुँदै अहिले राष्ट्रिय स्तरको नेताका रूपमा शाहको राजनीतिक उचाइ बढ्दै जाँदा, एनएमआइटीले उनलाई कुनै दिन कलेज परिसरमा स्वागत गर्न पाउँदा खुसी लाग्ने बताएको छ। ‘यदि उनी भारत भ्रमणमा आए भने, हामी पक्कै पनि उनलाई यहाँ आमन्त्रण गर्न चाहन्छौँ। यो हाम्रो लागि सम्मान र हाम्रा विद्यार्थीहरूका लागि प्रेरणाको कुरा हुनेछ,’ उपाध्यक्ष सन्दीप शास्त्रीले भने।

 

कमेन्टहरु