राजनीति

पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत

रासस
२०८२ फाल्गुन २५ | मध्यान्ह ०३:११ बजे

पर्वत । पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । साेमबार सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नले ३० हजार ७३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १३ हजार ८७४ र तेस्रोमा नेकपा (एमाले) ले १३ हजार ३५० मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ३८४ मत पाएको छ।

यसरी नतिजा हेर्दा एमाले, कांग्रेस र नेकपा गरी तीन वटै दलले पाएको मतभन्दा रास्वपा एक्लैले पाएको मत बराबर जस्तै रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४७७ र राष्ट्रिय जनमोर्चाले १२८ मत पाएको छ । पर्वतमा समानुपातिकतर्फ साना ठूला गरी १५ वटा राजनीतिक दललाई मत परेको थियो । अन्य राजनीतिक दलको मत सङ्ख्या १०० भन्दा कम रहेको छ।

पर्वतमा प्रत्यक्षतर्फ रास्वपाकै उम्मेदवार सागर भुसालले फराकिलो मतान्तरले निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ खसेको मत र समानुपातिक तर्फको मतमा कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो तथा राप्रपा पाँचौँ स्थानमा परेका हुन्।

पर्वतमा यसअघि नेकपा (एमाले) का उम्मेदवार पदम गिरी लगातार दुई पटक निर्वाचित भएका थिए भने त्यसअघि तीन पटकसम्म नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी  निर्वाचित भएका थिए । 

पुराना राजनीतिक दल र पटकपटक दोहोरिएका उम्मेदवारहरूप्रति नागरिकको असन्तुष्टि बढेका कारण विगतका निर्वाचनभन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्मेदवार भुसाल निर्वाचित हुनुका साथै समानुपातिकतर्फ नयाँ दलले नै बढी मत पाएको हो । पर्वतमा समानुपातिकतर्फ ६६ हजार २८७ मत खसेकोमा एक हजार ६५४ मत बदर भएका हुन्।

कमेन्टहरु