प्रबास

इरानका नयाँ सर्वोच्च नेतासामु छन् यस्ता ठुला चुनौती

एजेन्सी
२०८२ फाल्गुन २५ | मध्यान्ह ०२:११ बजे

तेहरान । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले पद सम्हालेसँगै देशभित्र र बाहिरका जटिल चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था देखिएको छ। विश्लेषकहरूका अनुसार उनी अत्यन्त कठिन परिस्थितिमा नेतृत्व सम्हाल्नु पर्नेछ । अघिल्लो हप्ताको अन्त्यतिर अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणपछि सुरु भएको युद्धका कारण इरान यतिबेला ठुलो सैन्य तथा राजनीतिक दबाबमा छ ।

अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मोज्तबाले आफ्नो पिता पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीसहित परिवारका कयौँ सदस्य समेत गुमाएका थिए । यही परिस्थितिमा मोज्तबा खामेनेईले सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका हुन् । यद्यपि इरानको राजनीतिक र सैन्य संरचनाबाट उनलाई बलियो समर्थन मिलिरहेको संकेत देखिएको बताइएको छ । नयाँ नेताका लागि अर्को ठुलो चुनौती इरानको कमजोर अर्थतन्त्र हो । वर्षाैंदेखिको अन्तर्राष्ट्रिय प्रतिबन्ध र आन्तरिक कुप्रबन्धका कारण देशको अर्थतन्त्र कमजोर बनेको छ । विश्लेषकहरूका अनुसार यही आर्थिक संकटले पछिल्ला वर्षहरूमा जनअसन्तोष बढाएको छ ।

विश्लेषकहरूका अनुसार इरान अहिले गहिरो रूपमा विभाजित समाजमा परिणत भएको छ । गत डिसेम्बरको अन्त्यतिर आर्थिक संकट र महँगीलाई देशभर ठुलो विरोध प्रदर्शन भएको थियो । सुरुमा प्रदर्शनहरू आर्थिक संकटको विरोधमा भएपनि पछि त्यसमा राजनीतिक र सामाजिक मागहरू पनि थपिएका थिए । यस्तोमा नयाँ सर्वोच्च नेताले युद्ध, कमजोर अर्थतन्त्र र सामाजिक विभाजन जस्ता जटिल समस्याहरू कसरी समाधान गर्छन् भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण प्रश्न बनेको छ । 

कमेन्टहरु