लमजुङमा ९ उम्मेदवारको जमानत जफत


लमजुङ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा १२ उम्मेदवारमध्ये नौ जना उम्मेदवारको जमानत जफत भएको छ ।
उनका अनुसार धरौटी जफत हुनेहरूमा नेकपाको हरिजङ्ग तामाङ, राप्रपाका केबिन्द्रजङ्ग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, नेपाल मजदुर किसान पार्टीका गुजेश्वर प्रजापति मगजु, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश नेपालका मिलन बास्कोटा, नेकपा (माओवादी) का रवीन्द्र नाखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेको जमानत जफत भएको छ ।
धरौटी जफत भएकामध्ये सबैभन्दा धेरै नेकपाका तामाङले तीन हजार ३७१ र राप्रपाका गुरुङले एक हजार, श्रम संस्कृति पार्टीका गुरुङले ५६५ मत प्राप्त गरेका छन् । अन्य उमेदवारले ५०० मत पनि कटाउन सकेनन् ।
लमजुङबाट विजयी रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरेका छन्।
कुल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ । निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले रु १० हजार धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसङ्ख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका–२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।
एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ४६० मत खसेको थियो । जसमा ७३ हजार १० मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस कार्यालयका अनुसार प्रत्यक्षतर्फ दुई हजार ४५० मत बदर भएको छ । एकभन्दा बढी चिन्नम छाप लगाउने, मतदाता झुकिनुलगायत कारणले यतिका मत बदर भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख आचार्यले बताए । जिल्लामा १३० मतदान स्थल तथा एक अस्थायीसहित १९३ मतदान केन्द्र रहेको थियो ।






















