मध्यपूर्वमा बढ्दो युद्धले विश्व सुरक्षा र शान्तिमा खतरनाक परिणाम निम्त्याउन सक्ने ट्रम्पलाई कतारका अमिरकोे चेतावनी


दोहा,फागुन २४। कतारका अमिर तमिम बिन हमद अल थानीले मध्यपूर्वमा बढ्दो युद्धले विश्व सुरक्षा र शान्तिमा खतरनाक परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । कतारको सरकारी समाचार संस्था कतार न्यूज एजेन्सीका अनुसार अमिर तमिमले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
वार्तामा इरान र अमेरिका तथा इजरायलबिच जारी द्वन्द्व र त्यसले खाडी क्षेत्रमा निम्त्याएको तनावबारे छलफल भएको बताइएको छ । अमिरले इरानबाट कतार तथा क्षेत्रका अन्य देशमाथि भइरहेको आक्रमणको पनि उल्लेख गरेका थिए । उनले वर्तमान तनावले अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा गम्भीर असर पार्न सक्ने भन्दै संकट नियन्त्रण गर्न कूटनीतिक प्रयास तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
यसअघि इरानी राष्ट्रपति मसुद पेजेश्कियनले खाडी क्षेत्रका देशहरूमा गरिएको आक्रमणप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका थिए । तर पछि इरानी नेतृत्वले अमेरिकी सैन्य लक्ष्यहरूविरुद्ध आक्रमण जारी रहने संकेत दिएको छ । उता कतार र अमेरिकाबिच आर्थिक सम्बन्ध पनि निकै बलियो मानिन्छ । गत वर्ष ट्रम्पको खाडी भ्रमणका क्रममा कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सले संयुक्त रूपमा अमेरिकी अर्थतन्त्रमा करिब ३० खर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।






















