गण्डकी प्रदेश

गण्डकीमा दुई क्षेत्रको नतिजा आउन बाँकी

रासस
२०८२ फाल्गुन २४ | मध्यान्ह ०८:११ बजे

गण्डकी । गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ। गोरखा–१ र २ मा मतगणना जारी छ।

परिणाम सार्वजनिक भइसकेका १६ निर्वाचन क्षेत्रमध्ये १३ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी बनेका छन् भने दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जितेका छन्। एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन्। कास्की–१ मा ३९ हजार ८३३ मतसहित खड्कराज पौडेल, कास्की–२ मा ३१ हजार ९११ मत ल्याएर उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी बनिन्।

बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन्। बागलुङ–१ मा सुशील खड्का २० हजार ९२७ र बागलुङ–२ मा सोम शर्मा १२ हजार ६४७ मतसहित विजयी भएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बनेका छन्। स्याङ्जा–१ मा धनञ्जय रेग्मी र स्याङ्जा–२ मा झविलाल डुम्रे विजयी भए। रेग्मीले २९ हजार ३१ र डुम्रेले २५ हजार ३३५४ मत प्राप्त गरे। तनहुँका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारले जितेका छन्। तनहुँ–१ मा स्वर्णीम वाग्ले ३८ हजार ४० मतसहित विजयी भए। तनहुँ–२ मा श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी बने।

यस्तै, नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बनेका छन्। नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बने। गौतमले ५० हजार ९४५ र खनालले ४१ हजार ३४७ मत प्राप्त गरे। लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी बने। पवर्तमा रास्वपाकै सागर भुसाल २६ हजार ५६१ मतसहित विजयी बनेका छन्।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने। उनले २२ हजार ८५० मत प्राप्त गरे। मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मत ल्याएर विजयी बने। मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङ विजयी बने। उनले दुई हजार ४१५ मत ल्याए।

कमेन्टहरु