राजनीति

पाल्पा क्षेत्र नं. १ मा ३१ वर्षे एमाले विरासत भत्काए काङ्ग्रेसका सन्दीप रानाले

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह १०:११ बजे

पाल्पा । देशभरमै नेकपा एमालेको सुरक्षित क्षेत्रमा गणना हुने गरेको थियो पाल्पाको क्षेत्र नम्बर १ । ३१ वर्षदेखि लगातार फराकिलो मतान्तरले एमालेले जितेको यो क्षेत्रमा अहिले भने नेपाली कांग्रेसले जित दर्ता गरेको हो । भारतीय विदेश मन्त्रीको सचिवालयमा काम गरेको ३८ वर्षीय युवा सन्दीप रानाले यो क्षेत्रमा जित दर्ता गरेर पार्टीले ०४८ सालमा जितेको इतिहासलाई पुनरागमन गराएका छन् ।

नेकपा एमालेको आधार इलाका मानिएको सो क्षेत्रमा निवर्तमान सांसद नारायण आचार्यलाई पराजित गर्दै रानाले आफ्नो जित दर्ता गरेका हुन् । जनजाति बाहुल्य क्षेत्र रहे पनि एमालेको वर्चस्व रहेको र सो क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहमा एमालेले एकल जितेको छ ।यहाँ ०४८ पछिका सबै निर्वाचन एमालेले जित्दै आएको थियो । ०४८ मा कांग्रेसबाट कालुराम रानाले जितेपछि त्यसयता अगाडि आउन सकेको थिएन । त्यसपछि एमालेबाट ०५१ मा दलबहादुर राना, ०५६ मा भद्रबहादुर थापा, ०६४ दलबहादुर राना, ०७० राधाकृष्ण कँडेल, ०७४ मा दलबहादुर राना, ०७९ मा नारायण आचार्यले जितेका थिए ।

अहिले रानाले एमालेको सक्रिय राजनीति छाडेको र रास्वपाको प्रभावले आफ्ना मत संरक्षण गर्न नसक्नु मूल कारणसँगै कांग्रेसबाट निर्वाचित राना स्थानीयसँग घुलमिल भएर काम गर्न सक्ने युवा भएकाले पनि एमालेको विरासत गुमाउनु परेको स्थानीय नेताहरूको विश्लेषण छ ।अहिले रानाले १८ हजार ३३६ मत ल्याएर विजयी हुँदा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत पाएर दोस्रो भए भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले १४ हजार २९८ मत ल्याएर तेस्रो तथा नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारीले ९५१ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।

कमेन्टहरु