समाचार

हुम्लामा नेकपाका डा. रोकायाको अग्रता कायम

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह १२:११ बजे

हुम्ला, फागुन २३ गते । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तीन वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाको अग्रता कायम रहेको छ। पछिल्लो मतगणनाको विवरण अनुसार डा. रोकाया आफ्नो प्रतिद्वन्द्वीभन्दा झण्डै साढे तेह्र सय मतले अगाडि रहनुभएको छ।

ताँजाकोट, अदानचुली र चंखेली गाउँपालिकाका २२ वटा मतदान केन्द्रको मतगणना गर्दा नेकपाका उम्मेदवार डा। रोकायाले तीन हजार ५३८ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो। उहाँलाई नेपाली कांग्रेसका जयपति रोकायाले दुई हजार १८८ मत प्राप्त गरी पछ्याइरहनुभएको छ। यी दुई उम्मेदवारबीच एक हजार ३५० मतको अन्तर रहेको छ।

यसैगरी, नेकपा (एमाले) का दलबहादुर फडेराले दुई हजार १८१ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी टाली लाजोमले ७४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले ५० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेकपा (माओवादी) का कुम्भ बुढाले ९५ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले ११ मत प्राप्त गर्नुभएको छ भने १३२ मत बदर भएको छ।

तीन गाउँपालिकामा कुल आठ हजार २७५ मत खसेको थियो। हाल सर्केगार्ड गाउँपालिकामा मतगणना कार्य भइरहेको छ। हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो।

कमेन्टहरु