बिश्व

एसियाली सेयर बजारमा करेक्सन

एजेन्सी
२०८२ फाल्गुन २१ | बिहान ११:११ बजे

हङकङ । बिहीबार एसियाली शेयर बजार हरियोमा आएको छ । गएको साताको अन्त्यमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किरहँदा हर्मुज जलडमरुबाट हुने तेलको आपूर्ति ठप्प हुने चिन्ताबिच मङ्गलवार र बुधवार तीव्र रूपमा घटेका एसियाली सेयर बजारहरूमा बिहीबार बिहान केही सुधार देखिएका हुन् ।

दक्षिण कोरियाको कोस्पी सूचकाङ्क प्रारम्भिक कारोबारमा करिब १० प्रतिशतले बढेको छ । बुधवार भने यो सूचकाङ्कका  लागि दशकौँयताकै खराब दिनमध्ये एक बन्यो । उक्त दिन बजार बन्द हुँदा कोस्पी झन्डै १२ प्रतिशतले घटेको थियो । बुधवार कोस्पी सूचकाङ्क ८ प्रतिशतभन्दा तल झरेपछि ‘सर्किट ब्रेकर’ नामक संयन्त्र प्रयोग गर्दै कारोबार केही समयका लागि रोकिएको थियो । यो प्रणाली आकस्मिक घबराहटमा हुने अत्यधिक बिक्री रोक्नका लागि प्रयोग गरिन्छ ।

जापानको निक्केई २२५ सूचकाङ्क पनि बिहीबार बिहान ४ प्रतिशतले बढेको छ । यो सूचकाङ्क बुधवार कारोबार बन्द हुँदा ३ दशमलव ६ प्रतिशतले घटेको थियो । दक्षिण कोरिया र जापान दुवै मध्यपूर्वबाट ठूलो मात्रामा तेल किन्ने देश हुन् । तर इरानले महत्त्वपूर्ण हर्मुज जलडमरू हुँदै जाने जहाज जलाइदिने धम्की दिएपछि त्यहाँबाट हुने ढुवानी लगभग ठप्प भएको छ । विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्गबाट ओसारपसार हुने गर्छ । बिहिबारको कारोबारमा यस क्षेत्रमा चीन, हङकङ इन्डोनेसिया, ताइवान भारत, सिंगापुरलगायत अधिकांश शेयर बजार हरियोमा छन् । 

कमेन्टहरु