मोरङमा ६५ प्रतिशत मतदान


मोरङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लामा प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दिएको जानकारी अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ र करिब ६५ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
मतदान सकिएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्ने र सुरक्षित रूपमा ढुवानी गर्ने कार्य भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै स्थानमा गर्ने व्यवस्था मिलाइएको छ । जसमा क्षेत्र नं. १ को उर्लाबारी नगरपालिकाको कार्यालय, उर्लाबारी, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर, सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय, बेलबारी, क्षेत्र नम्बर ४ को जनता नमुना माध्यमिक विद्यालय, विराटनगर, क्षेत्र नम्बर ५ को सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालय, विराटनगरमा मतगणना हुनेछ ।
मतपेटिकाहरू संकलन हुने क्रम जारी रहेकाले केही क्षेत्रमा मध्यरातदेखि नै गणना सुरु हुन सक्ने अनुमान गरिएको छ ।






















