मिसाइल नभएर कुवेतको फाइटर विमानले तीन अमेरिकी युद्धविमान खसाल्यो : रिपोर्ट


वासिङ्टन डिसी । अपरेशन एपिक फ्युरी अन्तर्गत इरान विरुद्धको सैन्य अभियानमा होमिएको अमेरिकी वायुसेनाले ठूलो क्षति बेहोरेको छ। सोमबार कुवेतको आकाशमा उडिरहेका तीनवटा अमेरिकी एफ-१५ ई स्ट्राइक ईगल फाइटर जेटहरूलाई कुवेती एफ-१८ हर्नेटले झुक्किएर खसालेको खुलासा भएको छ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार यो घटना इरानी ड्रोन र मिसाइल आक्रमणको प्रतिकार गर्ने क्रममा भएको ‘फ्रेन्ड्ली फायर’ अर्थात् आफ्नै सहयोगी बिचको समन्वय अभावको परिणाम हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले कुवेती पाइलटले झुक्किएर तीनवटा मिसाइल प्रहार गरेको र ती मिसाइलले आफ्नै सहयोगी राष्ट्र अमेरिकाका जेटहरूलाई निशाना बनाएको पुष्टि गरेका छन्।
यो घटना यस्तो समयमा भएको हो जब गत शनिबार अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि मध्यपूर्वमा युद्धको ज्वाला दन्किएको छ। इरानले त्यसको बदला लिन कुवेत र खाडी क्षेत्रका अमेरिकी सैन्य आधार इलाकाहरूमा ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरिरहेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार सोमबार कुवेती आकाशमा इरानी ड्रोनहरू प्रवेश गरिरहेका थिए र त्यही तनावपूर्ण अवस्थामा कुवेती सेनाले शत्रुको विमान ठानेर अमेरिकी जेटमाथि आक्रमण गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा एउटा एफ-१५ जेट आगोको मुस्लोसहित आकाशबाट खसिरहेको देखिएको छ।
विमान ध्वस्त भए पनि त्यसमा सवार चालक दलका सदस्यहरू भने प्यारासुटमार्फत सुरक्षित अवतरण गर्न सफल भएका छन्। सैन्य विज्ञहरूले यस घटनालाई रहस्यमय र गम्भीर त्रुटिको रूपमा हेरेका छन्। सामान्यतया युद्धको समयमा आफ्ना र सहयोगीका विमान चिन्नका लागि आइडेन्टिफिकेसन फ्रेन्ड अर फो कोडको प्रयोग गरिन्छ, जसले राडारमा कुन विमान शत्रुको हो र कुन मित्रको भन्ने प्रस्ट पार्छ। अमेरिकी पूर्व पाइलटहरूले एफ-१५ जेटलाई इरानी विमान भनेर चिन्नु वा झुक्किनु प्राविधिक रूपमा कठिन हुने बताउँदै यसमा प्रक्रियागत गल्ती भएको हुनसक्ने आशंका गरेका छन्।
कुवेती सेना त्यसबेला निकै दबाब र सतर्क अवस्थामा थियो किनभने यो घटनाको एक दिनअघि मात्रै कुवेतको शुएबा बन्दरगाहमा रहेको अमेरिकी सैन्य केन्द्रमा इरानी ड्रोन आक्रमण हुँदा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो। कुवेतको रक्षा मन्त्रालयले सुरुमा आफूले धेरै शत्रुतापूर्ण लक्ष्यहरूलाई निस्तेज पारेको दाबी गरे पनि पछि अमेरिकी विमानहरू दुर्घटनामा परेको स्वीकार गरेको छ।
पेन्टागनमा आयोजित ब्रिफिङमा जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले तीनवटा एफ-१५ जेट गुमाएको स्वीकार गरे पनि घटनाको विस्तृत विवरण दिन भने अस्वीकार गरेका छन्।
मध्यपूर्वमा विगत १५ महिना यता अमेरिकाले आफ्नै सहयोगीको निशानामा परेर विमान गुमाएको यो दोस्रो घटना हो। इरानले भने ती विमानहरू आफ्नै सेनाले खसालेको दाबी गर्दै युद्ध अझ चर्काउने चेतावनी दिएको छ। यस युद्धमा हिजबुल्लाह जस्ता गैर-राज्य पक्षहरू पनि सामेल भएपछि क्षेत्रभर मानवीय संकट र नागरिक विस्थापनको लहर चलेको छ।
सेन्टकम कमाण्डर एडमिरल ब्राड कुपरका अनुसार हालसम्म यो अपरेसनमा २०० भन्दा बढी लडाकु विमानले २,००० भन्दा बढी पटक आक्रमण गरिसकेका छन्।






















