कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत


काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।
नेपाली सेनाका पूर्वी पृतनापति एवं उपरथी गौरवकुमार केसीले रासससँगको कुराकानीमा सेना अन्य सुरक्षा निकायसँगको समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापनमा खटिएको बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए।
सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन पूर्वी पृतना कटिबद्ध रहेको उपरथी केसीले जानकारी दिए। प्रदेशका १४ वटै जिल्लामा अस्थाई बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती सञ्चालन, बम डिस्पोजल टोली परिचालन तथा तैनाथी, संवेदनशील स्थानमा विशेष फौजको तैनाथी र सुरक्षा अवस्थालाई थप मजबुत बनाउन हवाई गस्ती तथा ड्रोनमार्फत निगरानी बढाइएको सेनाले जनाएको छ ।
सशस्त्र प्रहरी बलसँगको सहकार्यमा निर्वाचनको मौन अवधिमा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पैदल तथा मोबाइल गस्ती बढाइएको छ । आकस्मिक उद्धार तथा सम्भावित संवेदनशील अवस्थामा खटिन हेलिकप्टर तथा हवाइजहाजलाई इटहरी र विराटनगरमा तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकाय खटिएको बताए। “सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त र मजबुत छ । मतदानमा भाग लिन मतदाताले कुनै डरत्रास मान्नुपर्दैन”, उनले भने, “सुरक्षामा कुनै कमजोरी हुँदैन । निर्धक्क भई मतदान गर्नुस् ।”
सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुरक्षामा कुनै सम्झौता नगर्ने गरी गस्ती भइरहेको जानकारी दिए । उनले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको र भयरहित वातावरणमा मतदानको सुरक्षा सुनिश्चिता गरिसकेको स्पष्ट पार्नुभयो ।
सशस्त्र प्रहरी बलले सो प्रदेशमा सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरिएको जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि ‘हेडक्वार्टर’ र कोशी प्रदेशस्तरीय सुरक्षा समितिबाट प्रहरी टोली परिचालन गरिएको छ।





















