इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार


तेहरान,फागुन २०। मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । बुधबार बिहानसम्म इरान, इजरायल, लेबनान र खाडी क्षेत्रभर आक्रमण र प्रतिआक्रमण जारी छ । इरानी सरकारी मिडियाका अनुसार राजधानी तेहरान वरिपरिसहित देशका विभिन्न भागमा विस्फोट भएका छन् ।
इजरायली सेनाले व्यापक नयाँ लहरका आक्रमण सुरु गरेको बताउँदै बासिज र आन्तरिक सुरक्षा कमान्ड केन्द्रहरू निशाना बनाएको दाबी इरानले गरेको छ । इस्फहाननजिक कालो धुवाँको ठुलो मुस्लो देखिएको तस्बिर पनि सार्वजनिक भएको छ ।
त्यस्तै, लेवनानको राजधानी बेरुतको दक्षिणको अरामुनमा भएको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बालबेकमा आवासीय भवनमा प्रहार हुँदा कम्तीमा ५ जनाको ज्यान गएको सरकारी मिडियाले जनाएको छ । इजरायलले दक्षिण लेबनानका दर्जनभन्दा बढी बस्ती खाली गर्न आदेश जारी गरेको छ ।
कतारमा पनि इरानी ब्यालिस्टिक मिसाइलले अल उदेइद एयर बेसलाई प्रहार गरेको रक्षा मन्त्रालयले जनाएको छ । तर यसमा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
साउदी अरबको रक्षा मन्त्रालयका अनुसार अलखार्ज नजिक दुई क्रुज मिसाइल खसालिएका छन् । साथै साउदी हवाई क्षेत्रमा प्रवेश गरेका ९ ड्रोन पनि नष्ट गरिएको सरकारी मिडियाले जनाएको छ ।
कुवेतमा पनि आवासीय क्षेत्रमा सेलका टुक्रा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै हवाई लक्ष्य अवरोध गरिएको र त्यसका भग्नावशेष घरमा खस्दा केही घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यस्तै बेलायती समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ) ले संयुक्त अरब इमिरेट्समा फुजैराह तट नजिक एक जहाजमा अज्ञात समूहले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । तर जहाजमा भने ठुलो क्षति नभएको जनाइएको छ ।






















