मध्यपूर्व तनाव चर्किँदै गर्दा एसियाली बजारमा पहिरो


टोकियो । मध्यपूर्वमा युद्ध विस्तार हुँदै जाँदा त्यसको असर एसियाली शेयर बजारमा स्पष्ट देखिएको छ । बुधबार बिहानको कारोबारमा यस क्षेत्रका अधिकांश प्रमुख बजारहरू तीव्र रूपमा ओरालो लागेका छन् । इरानमाथि इजरायल अमेरिकी आक्रमण र त्यसपछि विकसित घटनाक्रमका बिच मध्य पूर्वको ऊर्जा आपूर्ति अवरुद्ध हुने डरले लगानीकर्ताहरू त्रसित भएको विश्लेषण गरिएको छ ।
विशेषज्ञहरूका अनुसार मध्यपूर्वबाट ठुलो मात्रामा कच्चा तेल र ग्यास आयात गर्ने भएकाले एसियाली अर्थतन्त्रहरू ऊर्जा आपूर्ति अवरोधप्रति विशेष रूपमा संवेदनशील छन् । विशेष चिन्ताको विषय भनेको हर्मुज जलडमरूमध्य हो । विश्वको करिब ४६ प्रतिशत कच्चा तेल यही मार्ग हुँदै एसियातर्फ ढुवानी हुने गरेको छ ।
ग्लोबल तेल अनुगमन संस्था केप्लरका अनुसार उक्त मार्गमा जहाज आवतजावत सीमित हुन थालेको सङ्केत देखिएको छ । यदि तनाव अझ बढ्दै गयो भने ऊर्जा मूल्यमा थप उछाल आउन सक्ने र त्यसले एसियाली बजारमा थप दबाब सिर्जना गर्ने विश्लेषकहरूले चेतावनी दिइरहेका छन् ।






















