अमेरिका–इजरायल आक्रमणविरुद्ध रूस र चीनको कूटनीतिक दबाब


बेइजिङ । मध्यपूर्वमा बढ्दो तनावबीच रूस र चीनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीको आलोचना गरेका छन् ।
चीनका विदेशमन्त्री वाङ यीले मंगलबार इजरायलका विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गर्दै इरानमाथिको आक्रमणप्रति कडा असन्तुष्टि जनाएका हुन् । चीनको विदेश मन्त्रालयका अनुसार उनले वासिङ्टन र तेहरानबीचको वार्ता महत्त्वपूर्ण प्रगतितर्फ उन्मुख भइरहेका बेला सैन्य कदम चालिनु दुर्भाग्यपूर्ण भएको बताए ।
वाङले भने, ‘चीन इजरायल र अमेरिकाद्वारा इरानविरुद्ध गरिएका कुनै पनि सैन्य प्रहारको विरोध गर्छ ।’ उनले तत्काल सैन्य गतिविधि रोक्न आह्वान गर्दै द्वन्द्व थप चर्किन नदिन चेतावनी दिएका छन् । ‘बल प्रयोगले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र दीर्घकालीन गम्भीर परिणाम निम्त्याउँछ,’ वाङको भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।
चिनियाँ पक्षका अनुसार वार्ताका क्रममा सआरले इरानस्थित चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाका लागि ठोस कदम चाल्ने आग्रह स्वीकार गरेका थिए । यसअघि सोमबार पनि वाङले इरान, ओमान र फ्रान्सका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै वार्ता गर्दै क्षेत्रीय तनाव कम गर्ने प्रयास गरेका थिए






















