प्रबास

चर्चित होली गीत ‘रङ बरसे’ को कथा : पिता हरिवंशरायले लेखे, अमिताभले गाए

एजेन्सी
२०८२ फाल्गुन २० | बिहान १०:११ बजे

मुम्बई । नेपाली चलचित्र होस् वा बलिउड, पर्दामा होलीको रङ नपर्दासम्म उत्सव अधुरो मानिन्छ। चलचित्र र होलीको यो सम्बन्ध करिब ९४ वर्ष पुरानो छ। 

बलिउडमा सन् १९३२ मा गुलरू जरीनामार्फत पहिलोपटक ‘होरी मुझे खेलने को टेसू मंगा दे’ बोलको गीतबाट सुरु भएको यो यात्रा आजसम्म पनि उत्तिकै सुगन्धित छ। सुरुवातमा ब्ल्याक एण्ड ह्वाइट युग भएकाले होलीका रङहरू पर्दामा देखिन सकेनन्, तर सन् १९५२ मा महबूब खानको चलचित्र ‘आन’ ले पहिलोपटक दर्शकलाई रङ्गिन होलीको स्वाद चखायो।

बलिउडमा होली मनाउने शैली र यसका कथाहरू निकै रोचक छन्। शो-म्यानका रूपमा चिनिने राज कपुरको होली पार्टी त झन् अनौठो र भव्य हुन्थ्यो। उनले आफ्नो पार्टीमा तेस्रो लिङ्गीहरूलाई विशेष निमन्त्रणा दिने गर्थे। 

रोचक कुरा के छ भने, राज कपुर आफ्ना आगामी चलचित्रका गीतहरू उनीहरूलाई सुनाउँथे। यदि उनीहरूले कुनै गीत मन पराएनन् भने राज कपुरले त्यो गीत चलचित्रबाटै हटाइदिने गर्थे। उनीहरूको सल्लाह र रुचिलाई उनले सफलताको मानक मान्ने गर्थे।

त्यस्तै, अमिताभ बच्चनको होली पार्टी पनि कम चर्चामा हुँदैनथ्यो। पाहुनाहरूलाई रङले भरिएको पोखरीमा फाल्ने, भाङ खुवाउने र नाचगान गर्ने उनको छुट्टै अन्दाज थियो। 

अमिताभको करियरमा होलीका गीतहरूको ठुलो योगदान छ। उनका दुई सदाबहार गीत ‘रङ बरसे’ र ‘होरी खेलें रघुबीरा’ उनका पिता तथा प्रसिद्ध कवि हरिवंशराय बच्चनले लेखेका हुन्। यी गीतहरू पर्दामा आउनुअघि अमिताभले बाल्यकालदेखि नै आफ्ना पिताको मुखबाट सुन्दै आएका थिए।

सन् १९८१ को चर्चित चलचित्र सिलसिलाको ‘रङ बरसे’ गीतको जन्म पनि एउटा संयोग नै थियो। यो गीत मीराको भजन ‘रङ बरसे ओ मीरन’ बाट प्रेरित थियो।

राज कपुरको होली पार्टीमा अमिताभले यो भजन गुनगुनाइरहेका बेला निर्देशक यश चोपडाले सुनेका थिए। उनलाई त्यो भजन यति मनपर्‍यो कि तुरुन्तै आफ्नो चलचित्रमा राख्ने निर्णय गरे। 

ठ्याक्कै यस्तै कथा बागवान चलचित्रको ‘होरी खेले रघुबीरा’ को पनि छ। सङ्गीतकार आदेश श्रीवास्तवले होलीको गीतका लागि सुझाव माग्दा अमिताभले आफ्ना पिताले गुनगुनाउने लोकगीत सुनाएका थिए, जुन पछि रातारात रेकर्ड गरियो र अहिले पनि हरेक होलीमा गुन्जिने गर्छ।

कमेन्टहरु