विजय र रश्मिकाको रिसेप्सन आज


हैदराबाद । साउथ फिल्म उद्योगका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दानाको विवाहको भव्य रिसेप्सन पार्टी आज हैदराबादको होटल ताज कृष्णामा आयोजना गरिँदैछ। गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा सीमित पारिवारिक सदस्य र नजिकका साथीहरूका बिच वैवाहिक बन्धनमा बाँधिएका यो जोडीले आज आफ्ना सहकर्मी र विशिष्ट पाहुनाहरूका लागि विशेष समारोह राखेका हुन्।
बिना कार्ड प्रवेश निषेध र कडा सुरक्षा
रिसेप्सन समारोहलाई निकै निजी र सुरक्षित बनाउन आयोजकले विशेष मापदण्ड अपनाएका छन्। आइतबार जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार वैध निमन्त्रणा कार्डबिना कसैलाई पनि भित्र जान अनुमति दिइने छैन।
गेस्ट लिस्टलाई निकै सीमित राखिएको छ र सुरक्षा जाँचपछि मात्रै पाहुनाहरूले प्रवेश पाउनेछन्। हाइ-प्रोफाइल पाहुनाहरूको सुरक्षाका लागि निजी सुरक्षाकर्मीका साथै अतिरिक्त सुरक्षा बल समेत परिचालन गरिएको छ।
विजय र रश्मिकाको विवाह दुई फरक सांस्कृतिक परम्परा अनुसार सम्पन्न भएको थियो। फेब्रुअरी २६ को बिहान तेलुगु रीतिरिवाज अनुसार विवाहका कार्यक्रम भएका थिए भने साँझ रश्मिकाको पुर्ख्यौली कोडवा परम्परा अनुसार वैवाहिक संस्कार पूरा गरिएको थियो।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चले पनि यो जोडीले आफ्नो विवाहलाई अन्तिम समयसम्म निकै गोप्य राख्न सफल भएको थियो।






















