निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगे, निर्वाचनको तयारी पुरा


बाजुरा, फागुन २० । बाजुरा फागुन २१ गते बिहीबार हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् । यहाँका ७७ मतदानस्थलका एक सय १८ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
बिहीबार हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी सहित निर्वाचन सामग्री लिएर मतदान केन्द्र पुगेका हुन् । मतदान केन्द्रमा पुगेपछि आज नै प्रत्येक मतदान केन्द्रमा सर्वदलीय बैठक सकेर निर्वाचनको कार्य थालिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार एक सय १८ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र गरी एक सय १९ मतदान केन्द्रमा निर्वाचनका मतदान अधिकृत सहित कर्मचारी पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि एक सय १९ मतदान केन्दमा ५६५ पुरुष र १४४ महिला गरी ७०९ निर्वाचन कर्मचारी खटाइएको छ । तीमध्ये १४ जना महिला र एक सय ५ पुरुष गरी एक सय १९ मतदान अधिकृत, ३२ जना महिला सहायक, ८७ जना पुरुष सहायक गरी एक सय १९ सहायक मतदान अधिकृत र कर्मचारी सात सय ९ जना निर्वाचनमा खटाइएको मुख्य निर्वाचन अधिकृत पोखरेलले भनाई रहेको छ ।
मतदानको दिन मतदाताले ६ प्रकार मध्ये कुनै एक भएमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ । मतदान गर्नका लागि नागरिकता, मतदाता परिचय पत्र,राहदानी,राष्ट्रिय परिचय पत्र, र जग्गाधनी लालपुर्जा हुनुपर्ने आयोग परिपत्र गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलको भनाई रहेको छ । तीमध्ये कुनै एक भएमा मतदान गर्न पाउने र कुनै पनि प्रमाण् नभए मतदान गर्न नपाउने व्यवस्था आयोगले गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने । बुथ कब्जा गर्ने र एक मतदाताको अर्काे व्यक्तिले मतदान गर्र्न नपाउने भएकाले यस्तो कार्यमा कसैले नगर्न पनि आयोगले आग्रह गरेको छ ।
यहाँ सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल भएकाले निर्वाचनमा सुरक्षा व्यवस्था कडाई गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति अपनाएको प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका संयोजक निरौलाले बताए । उनका अनुसार यहाँका एक सय १८ मतदान केन्द्रका ६२ अतिसंवेदनशिल,१२ संवेदनशिल र अन्य सामान्य रहेको बताएका छन् । अति र संवेदनशिल रहेको मतदान केन्द्रमा विशेष सुरक्षाका व्यवस्था सहित सुरक्षा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई रहेको छ ।
बिहीबार सम्पन्न हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि चार सय नेपाल प्रहरी, एक सय ९० सशस्त्र प्रहरी र तीन सय बढी नेपाली सेना परिचालन गरिएको प्रजिअ निरौलाले जानकारी दिए । निर्वाचनलाई स्वच्छ,निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा रणनीति अपनाइएको बताएका छन् । जिल्लामा ८७ हजार ८६१ मतदाता छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।






















