चुनावको तयारी पुरा: २३ हजार वटै मतदान केन्द्रमा कर्मचारी पुगे


काठमाडौँ । निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधिसभा सदस्य चुनावको तयारी पुरा भएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरु सम्पन्न भइसकेका छन्। आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसकेको जनकारी दिए।
चुनावका लागि कर्मचारी तथा सुरक्षाकर्मीहरु देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका छन्। मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारी थालेका छन्।
मतदान स्थल निर्माणदेखि स्थानीय स्तरमा राजनीतिक दलहरु र उम्मेदवारहरुसँग सर्वदलीय बैठक बसेर मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको छ।
प्रवक्ता भट्टराईले भने, ‘केन्द्रिय तहमा हुनुपर्ने तयारी हामीले सबै सम्पन्न गरिसकेका छौँ । हाम्रो निर्वाचन आयोग माघ २ गतेदेखि सबै निर्वाचन क्षेत्रमा पुगेको थियो । त्यहाँ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ज्युहरुको कार्यालय स्थापना भएपछि आयोग सबै निर्वाचन क्षेत्रमा पुगेको थियो र हिजोदेखि निर्वाचन आयोग २३ हजार ११२ मतदान केन्द्रसम्म पुगेको छ ।’
मंगलबार बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म मतदानको समय तोकिएको छ।
मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनैपनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
सम्पूर्ण जनशक्ति र सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेको र कार्यविभाजन समेत भइसकेकोले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको आयोगको विश्वास छ।






















