वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

रासस
२०८२ फाल्गुन १९ | मध्यान्ह ०३:११ बजे

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो।
चालु आवको सात महिनामा रु एक खर्ब छ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात गरिएको छ । त्यसैगरी, रु ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात गरिएको छ । सोही अवधिमा रु ३५ अर्ब ८७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ ।
रु ३५ अर्ब ६७ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको जनाइएको छ । रु २७ अर्ब ९८ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।






















