प्रबास

इरानमाथि अमेरिकी आक्रमण इजरायलबाट प्रभावितः रुबियो

एजेन्सी
२०८२ फाल्गुन १९ | मध्यान्ह १२:११ बजे

वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्का रुबियोले इजरायलको योजनाबद्ध आक्रमणले तेहरानविरुद्ध वासिङ्टनको कारबाहीको समय निर्धारण गरेको संकेत गरेका छन्। 

सोमबार पत्रकारहरूसँग कुरा गर्दै रुबियोले अमेरिकालाई इजरायलले इरानमाथि आक्रमण गर्न लागेको जानकारी पहिले नै रहेको बताए। इरानले त्यसको प्रतिशोध मध्य पूर्व क्षेत्रमा अमेरिकी हितका ठाउँमा गर्ने निश्चितजस्तै भएकाले अमेरिकी सेनाले अग्रिम प्रहार गरेको दाबी उनले गरे।

‘हामीलाई थाहा थियो कि इजरायलबाट कारबाही हुन लागेको थियो,’ उनले संसदीय नेताहरूसँगको ब्रिफिङपछि भने, ‘हामीलाई थाहा थियो कि त्यसले अमेरिकी फौजमाथि आक्रमण निम्त्याउनेछ, र यदि हामीले उनीहरूले आक्रमण सुरु गर्नु अघि नै प्रि–एम्प्टिभ कारबाही नगरेको भए, हाम्रो क्षति बढी हुने थियो।’

रुबियोको टिप्पणी आएको केही मिनेटमै अमेरिकी सेनाले इरानले आक्रमण गरेको क्षेत्रीय संरचनाबाट थप दुई शव फेला परेपछि मृतक अमेरिकी सैनिक संख्या छ जना पुगेको पुष्टि गरेको थियो।

तेहरानले संयुक्त अमेरिका–इजरायल आक्रमणको प्रतिशोधस्वरूप क्षेत्रमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। उक्त प्रारम्भिक हमलामा इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनी, उच्च अधिकारीहरू तथा सयौँ सर्वसाधारण मारिएको दाबी गरिएको छ।

अमेरिका र इजरायलले पहिले आक्रमण गरे पनि आफूहरू तत्कालीन खतरा रोक्न सक्रिय भएको तर्क रुबियोले दोहोर्‍याए। उनका अनुसार, इजरायलले एक्लै भए पनि इरानमाथि हमला गर्ने तयारीमा थियो।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आइतबारको भिडियो सन्देशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई “मित्र” भन्दै संयुक्त कारबाही भइरहेको बताएका थिए।

रुबियोले इरानले आफ्नो आणविक कार्यक्रम जोगाउन र आणविक बम क्षमतातर्फ बढ्न मिसाइल तथा ड्रोन संकलन गरिरहेको आरोप लगाए। अमेरिका–इजरायलले इरानको आणविक कार्यक्रमबारे वार्ताको एक चरण सम्पन्न भएको ४८ घण्टाभित्रै आक्रमण सुरु गरेका थिए।

युद्धको लक्ष्य इरानको मिसाइल र ड्रोन कार्यक्रम ध्वस्त पार्नु भएको भएपनि इरानमा शासन परिवर्तन भए अमेरिकालाई दुःख नहुने पनि उनले स्पष्ट पारे। यसैबीच, अमेरिकाले मध्यपूर्वका एक दर्जनभन्दा बढी देश—गल्फ सहयोग परिषद् राष्ट्रहरू, लेबनान, सिरिया, इजिप्ट, इजरायल तथा कब्जामा रहेका प्यालेस्टिनी भूभाग—मा रहेका अमेरिकी नागरिकलाई “तत्काल बाहिरिन” आग्रह गरेको छ।

अमेरिकी अधिकारी मोरा नामदारका अनुसार गम्भीर सुरक्षा जोखिम बढ्दै गएकाले उपलब्ध व्यावसायिक उडान प्रयोग गरेर तत्काल प्रस्थान गर्न स्टेट डिपार्टमेन्टले आग्रह गरेको हो।

 

कमेन्टहरु