के हो स्ट्रेट अफ होर्मुज ?


अमेरिका र इजरायलको इरानसँगको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग मध्येको एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ, जसका कारण तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का एक कमाण्डरले सोमबार उक्त जलमार्ग बन्द गरिएको र त्यहाँबाट पार हुन खोज्ने कुनै पनि जहाजलाई जलाइने चेतावनी दिएका छन्।
इरान र ओमानलाई छुट्याउने यस स्ट्रेट अफ होर्मुज वरपर कम्तीमा पाँच ट्याङ्करमा क्षति पुगेको छ, दुई जना कर्मचारी मारिएका छन् र करिब १५० जहाज अलपत्र परेका छन्। शनिबार इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणअघि बढेको तनावका बिच शुक्रबार प्रतिब्यारेल ७३ डलर रहेको तेलको मूल्य सोमबार बढेर ७९.४० डलरभन्दा माथि पुगेको छ।
विन्डवार्डकी वरिष्ठ सामुद्रिक जासुसी विश्लेषक मिशेल बोकम्यानले भनिन्, ‘यहाँको आवतजावत कम्तीमा ८० प्रतिशतले घटेको छ।’ उनले पानीजहाज उद्योगले मध्यपूर्व र खाडी क्षेत्रबाट बाहिरिने मार्गहरूको ढुवानी लागतमा पहिलेदेखि नै ठूलो वृद्धि को सामना गरिरहेको पनि थपिन्।

कन्ट्रोल रिस्कका सामुद्रिक जासुसी र सुरक्षा सेवा निर्देशक कोरम्याक म्याकग्यारीका अनुसार, नाविकहरूले शनिबार अन्तर्राष्ट्रिय डिस्ट्रेस फ्रिक्वेन्सी (आपतकालीन सञ्चार माध्यम) मार्फत इरानबाट स्ट्रेट अफ होर्मुज बन्द भएको सन्देश प्राप्त गरेका थिए। त्यस क्षेत्रका हरेक जहाजले त्यो सुने… र अधिकांश जहाजहरूलाई रोकिन त्यो सन्देश पर्याप्त थियो।
पानीजहाजको ट्र्याकिङ सेवा केप्लरले आइतबार स्ट्रेट अफ होर्मुजमा सीमित आवतजावत मात्रै रहेको देखायो जसमा मुख्यतया इरान र यसको प्रमुख व्यापारिक साझेदार चीनको झण्डा फहराएका जहाजहरू थिए।
- स्ट्रेट अफ होर्मुज बन्द हुँदा तेलको मूल्यमा कस्तो असर पर्छ?
बोकम्यानका अनुसार केही जहाजहरूले ट्र्याकिङबाट बच्न आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम बन्द गरेर स्ट्रेट अफ होर्मुज पार गरेको हुन सक्ने सम्भावना पनि छ।
म्याकग्यारीले इरानले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गर्नु भनेको आफ्नै घाँटीमा पासो कस्नु सरह हुने बताए। ‘यदि उनीहरूले व्यापारिक जहाजमा आक्रमण गरे भने, त्यसले खाडी देशहरूलाई पनि युद्धमा सामेल हुन उक्साउनेछ, र इरानका लागि त्यो निकै ठूलो कदम हुनेछ,’ म्याकग्यारीले भने।
‘उनीहरूले जलमार्गलाई लामो समयसम्म बन्द गर्न सक्छन् भन्ने कुरा पूर्णतया असम्भव छ,’ उनले थपे, ‘म क्षेत्रीय आपूर्ति शृङ्खलाको बारेमा बढी चिन्तित छु।’
यद्यपि, केप्लरका अनुसार अधिकांश व्यावसायिक अपरेटरहरू, प्रमुख तेल कम्पनीहरू र बीमा कम्पनीहरूले यस करिडोरबाट आफूलाई प्रभावकारी रूपमा पछाडि हटाएका छन्। युद्धअघि नै बीमा प्रिमियम ६ वर्षयताकै उच्च विन्दुमा पुगिसकेको थियो।
सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीकी वरिष्ठ फेलो रचेल जिम्बाले भनिन्, ‘खाडीमा ऊर्जा पूर्वाधारमा परेको दबाब र कतारले पूर्वसावधानी स्वरूप एलएनजी उत्पादन रोकेसँगै रातारात तनाव पक्कै बढेको छ। ट्याङ्करहरू खाडीमा आउन नचाहनुले यहाँ कति ठूलो जोखिम छ भन्ने सन्देश दिन्छ।’
- अमेरिका पनि अछुतो छैन
केप्लरका अनुसार, इरानले अमेरिकी-इजरायली आक्रमणको पूर्वानुमान गर्दै फेब्रुअरीमा तेल निर्यातलाई धेरै वर्षयताकै उच्च विन्दुमा पुर्याएको थियो। खाडी राष्ट्रहरूले पनि आफ्नो तेल आपूर्तिलाई अघि सारिरहेका थिए, जसले छोटो अवधिको आपूर्ति समस्यालाई सन्तुलनमा राख्न मद्दत गरेको जिम्बाले बताइन्।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै पठाइने अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।

तेलबाहेक आपूर्ति दबाबको सामना गरिरहेका अन्य ऊर्जा उत्पादनहरूमा जेट इन्धन र लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) पर्छन्। युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट सुरु हुन्छ वा पार हुन्छ, जबकि विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
यद्यपि अमेरिका अब मध्यपूर्वको तेलमा निर्भर छैन र त्यहाँ पम्पको मूल्यमा असर पर्न केही हप्ता लाग्न सक्छ, तर यो पनि आपूर्तिको अवरोधबाट अछुतो भने छैन।
सप्लाई चेन प्लेटफर्म ओभरहलका कार्यकारी उपाध्यक्ष डेभिड वारिकले अल जजीरालाई भने, ‘स्थिति निकै अस्थिर छ।’ कम्पनीहरूले अफ्रिकाको दक्षिणमा पर्ने केप अफ गुड होप हुँदै आफ्ना जहाजहरूको मार्ग परिवर्तन गर्दा, उनीहरूले लामो डेलिभरी समय र अतिरिक्त लागतको सामना गरिरहेका छन्।
‘युद्ध जोखिम बीमा र अतिरिक्त आपतकालीन बीमाले हजारौँ डलर थपिरहेको छ,’ वारिकले भने, ‘यो कच्चा पदार्थ ल्याउने र बिदाको योजना बनाउने मुख्य समय हो… र यतिबेलाको कुनै पनि अवरोध आपूर्ति शृङ्खलाका लागि राम्रो होइन।’
यस अवरोधबाट फाइदा लिनेहरू पनि हुन सक्छन्। ऊर्जाको खुद उत्पादक भएको नाताले मूल्य वृद्धिले अमेरिकी तेल उत्पादकहरूलाई फाइदा पुग्ने जिम्बाले बताइन्। ‘उपभोक्ता क्षेत्रले गुमाउँछन्, तर उत्पादकहरूलाई फाइदा हुन्छ। प्रश्न यो हो: यो कति लामो समयसम्म चल्छ? यति तीव्र अवस्थामा लामो समयसम्म रहन गाह्रो छ,’ उनले भनिन्।
- स्ट्रेट अफ होर्मुज कहाँ छ?
स्ट्रेट अफ होर्मुज एकातिर ओमान र युएई र अर्कोतिर इरानको बिचमा अवस्थित छ। यसले अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्छ।
यो यसको सबैभन्दा साँघुरो विन्दुमा ३३ किलोमिटर चौडा छ, जहाँ पानीजहाज हिँड्ने लेन दुवै दिशामा मात्र ३ किलोमिटर चौडा छ, जसले गर्दा यो आक्रमणको उच्च जोखिममा छ।
साँघुरो भए तापनि, यस च्यानलले विश्वका सबैभन्दा ठुला कच्चा तेल बोक्ने जहाजहरूलाई आवतजावत गर्न दिन्छ। मध्यपूर्वका प्रमुख तेल र ग्यास निर्यातकर्ताहरू अन्तर्राष्ट्रिय बजारमा आपूर्ति पुर्याउन यसैमा निर्भर छन् भने आयातकर्ता राष्ट्रहरू यसको निर्बाध सञ्चालनमा निर्भर छन्।

- यस स्ट्रेट अफ होर्मुजबाट कति तेल र ग्यास पार हुन्छ?
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार, सन् २०२४ मा करिब ५०० अर्ब डलर बराबरको विश्वव्यापी ऊर्जा व्यापारको हिस्सा मानिने लगभग २ करोड ब्यारेल तेल हरेक दिन स्ट्रेट अफ होर्मुज हुँदै पार भयो।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र युएईबाट आउँछ। यस स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। ईआईए का अनुसार सन् २०२४ मा विश्वव्यापी एलएनजी ढुवानीको करिब पाँचौँ हिस्सा यही करिडोर हुँदै गयो, जसमा कतारको हिस्सा सबैभन्दा ठूलो थियो।
- ती सबै कहाँ जान्छन्?
यस स्ट्रेट अफ होर्मुजले तेल र ग्यासको निर्यात र आयात दुवै सम्हाल्छ। कुवेत र युएईले खाडी बाहिरबाट स्रोत भएका आपूर्तिहरू आयात गर्छन्, जसमा अमेरिका र पश्चिम अफ्रिकाबाट आउने ढुवानी पनि समावेश छ।
ईआईएको अनुमान अनुसार सन् २०२४ मा यस स्ट्रेट अफ होर्मुज हुँदै जाने कच्चा तेल र कन्डेन्सेट ढुवानीको ८४ प्रतिशत एसियाली बजारतिर गएको थियो। ग्यास व्यापारमा पनि यस्तै ढाँचा देखिन्छ, स्ट्रेट अफ होर्मुज हुँदै जाने ८३ प्रतिशत एलएनजी एसियाली गन्तव्यमा पुग्छन्।
गत वर्ष यस स्ट्रेट अफ होर्मुज हुँदै जाने सबै कच्चा तेल र कन्डेन्सेटको कुल ६९ प्रतिशत चीन, भारत, जापान र दक्षिण कोरियाले भित्र्याएका थिए। उनीहरूका कारखाना, यातायात नेटवर्क र पावर ग्रिडहरू खाडीको निर्बाध ऊर्जामा निर्भर छन्। तेलको मूल्यमा हुने वृद्धिले चीन, भारत र दक्षिणपूर्वी एसियाका कैयौँ देशहरूलाई गम्भीर असर पार्नेछ।
- स्ट्रेट अफ होर्मुज बन्द हुँदा तेलको मूल्यमा कस्तो असर पर्छ?
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्नुपर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।
तर विश्वकै सबैभन्दा ठूलो तेल र ग्यास भण्डार रहेको यस क्षेत्रमा बढ्दो तनावका बिच ऊर्जा व्यापारीहरू पछिल्ला हप्ताहरूमा उच्च सतर्कतामा छन्। केप्लरकी वरिष्ठ कच्चा तेल विश्लेषक मुयु सुले अल जजीरालाई शनिबार युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजको आवतजावतमा तीव्र गिरावट आएको बताइन्।
‘त्यसैगरी, तेहरानले सम्भावित जलमार्ग बन्द गर्ने चेतावनी दिएपछि पानीजहाज मालिकहरू सामुद्रिक सुरक्षा जोखिमबारे चिन्तित हुँदा ओमानको खाडी र अरब खाडी दुवैतर्फ रोकिएर बसेका जहाजहरूको सङ्ख्या ह्वात्तै बढेको छ,’ उनले भनिन्।
‘विश्वको समुद्री कच्चा तेलको करिब ३० प्रतिशत जलमार्गबाट पार हुने भएकाले स्ट्रेट अफ होर्मुज विश्वव्यापी ऊर्जा बजारका लागि महत्त्वपूर्ण छ। यसका अतिरिक्त, विश्वव्यापी जेट इन्धनको लगभग २० प्रतिशत र ग्यासोलिन तथा नाफ्थाको करिब १६ प्रतिशत पनि यसै स्ट्रेट अफ होर्मुज हुँदै बग्छ,’ मुयुले भनिन्।
‘आइतबार ओमानको तटमा एउटा तेल ट्याङ्करमाथि आक्रमण भयो, जसले द्वन्द्व बढेको र निशाना सैन्य सुविधाहरूबाट ऊर्जा सम्पत्तिहरूमा सरेको स्पष्ट सङ्केत गर्छ।’
सामुद्रिक डाटा अनुसार कच्चा तेल र एलएनजी बोकेका कम्तीमा १५० ट्याङ्करहरूले स्ट्रेट अफ होर्मुजभन्दा बाहिर खुला खाडीको पानीमा एङ्कर खसालेका छन् । मरिन ट्राफिक प्लेटफर्मको डाटामा आधारित रोयटर्स समाचार एजेन्सीको अनुमान अनुसार, ती ट्याङ्करहरू इराक र साउदी अरबका साथै एलएनजी विशाल कतारलगायत प्रमुख खाडी तेल उत्पादकहरूको तटवर्ती खुला पानीमा जम्मा भएका थिए।
यसका साथै, आइतबार बेलायतको सामुद्रिक व्यापार सञ्चालनले स्ट्रेट अफ होर्मुजमा भइरहेको उल्लेखनीय सैन्य गतिविधिबारे जानकार रहेको र ओमानको कुम्जारबाट दुई नटिकल माइल उत्तरमा भएको घटनाको रिपोर्ट प्राप्त गरेको जनाएको छ।
केप्लरकी मुयुले अब ऊर्जा पूर्वाधारको ठूलो दायरा खतरामा रहेको बताइन्। ‘यसले तेलको मूल्य वृद्धिलाई तीव्र पार्ने अपेक्षा गरिएको छ र मूल्यलाई लामो समयसम्म उच्च राख्न सक्छ, जुन सम्भवतः गत जुनको द्वन्द्वको समयभन्दा लामो हुन सक्छ।’
इन्टरनेसनल क्राइसिस ग्रुपका इरान प्रोजेक्ट डाइरेक्टर अली वाजले भने, ‘स्ट्रेट अफ होर्मुज बन्द हुँदा रातारात विश्वव्यापी रूपमा व्यापार हुने तेलको पाँचौँ हिस्सा अवरुद्ध हुनेछ र मूल्य मात्रै बढ्ने छैन, डरकै कारण मूल्यमा भयानक उछाल आउनेछ।’
‘यसको झट्का ऊर्जा बजारभन्दा निकै परसम्म पुग्नेछ, जसले वित्तीय अवस्थालाई कसिलो बनाउनेछ, मुद्रास्फीति बढाउनेछ र केही हप्तामै कमजोर अर्थतन्त्रहरूलाई मन्दीतर्फ धकेल्नेछ,’ उनले थपे। गत जुनमा अमेरिका र इजरायलले इरानमा बमबारी गर्दा यस क्षेत्रको सामुद्रिक गतिविधिमा कुनै प्रत्यक्ष अवरोध आएको थिएन।
- यसको अर्थ विश्व अर्थतन्त्रका लागि के हो?
होर्मुज हुँदै हुने ऊर्जा प्रवाहमा कुनै पनि अवरोध आउँदा त्यसले इन्धन र कारखानाको लागत बढाएर विश्व अर्थतन्त्रलाई असर गर्नेछ। बेलायतस्थित क्यापिटल इकोनोमिक्सका जलवायु र कमोडिटी अर्थशास्त्री हमाद हुसेनले भने, ‘विश्व अर्थतन्त्रका लागि, तेलको मूल्यमा हुने निरन्तरको वृद्धिले मुद्रास्फीतिमाथि थप दबाब सिर्जना गर्नेछ।’
‘यदि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुग्यो र केही समय त्यही स्तरमा रह्यो भने, त्यसले विश्वव्यापी मुद्रास्फीतिमा ०.६-०.७ प्रतिशत थप्न सक्छ,’ उनले प्राकृतिक ग्यासको मूल्य पनि बढ्ने उल्लेख गर्दै भने।
‘यसले प्रमुख केन्द्रीय बैंकहरू, विशेषगरी उदीयमान बजारहरूका केन्द्रीय बैंकहरूको मौद्रिक नीति खुकुलो पार्ने गतिलाई सुस्त बनाउन सक्छ, जहाँ नीति निर्माताहरू कमोडिटी (वस्तु) को मूल्यमा हुने उतारचढावप्रति बढी संवेदनशील हुन्छन्,’ उनले थपे।























