देश

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको आग्रह

नवलपुर टुडे
२०८२ फाल्गुन १९ | बिहान ०८:११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताउँदै फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभएको छ ।

निर्वाचन हुनु तीन दिनअघि सोमबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको बताउँदै आफ्नो र सन्ततिको भविष्यका लागि मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।’

जेन–जी आन्दोलनपछिको अवस्थाको यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उल्लेख गर्दै उहाँले सम्मुखमा रहेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गर्र्नुभयो । जेन–जी आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले सरकारको नेतृत्व लिएको बताउँदै उहाँले भन्नुभयो– ‘सडकमा युवाहरूको आक्रोश र देशको भविष्य अन्योलमा रहेको अवस्थाबाट मुलुकलाई हिंसात्मक मोडबाट जोगाउँदै शान्तिपूर्ण निकास र संविधानको बाटोमा फर्काउनु नै आफ्नो सरकारको मुख्य उपलब्धि भएको छ ।’ उहाँले थप्नुभयो– ‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौं । विधिको शासन स्थापित गर्दै स्थिरताका साथ अघि बढ्न सफल भएका छौं ।’

निर्वाचनको मुखमा सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमबाट तथ्यहीन सामग्री र भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखेको स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हँुदैन । कानुनबमोजिम कारबाही गर्न सरकार पछि हट्ने छैन ।’ सरकार र निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले मौन अवधिमा अनुशासन पालना गर्न दलहरूलाई आग्रह गर्नुभयो ।

छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु । साथै, संयुक्त राष्ट्रसंघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौैं ।’

प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको र इरान र त्यस वरपरको तनाबले चिन्तित बनाएको बताउनुभयो । ‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो । त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ । परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ । सरकार हरदम त्यस क्षेत्रमा रहेका नेपालीहरूको साथमा रहेको छ’ –उहाँले भन्नुभयो ।

कमेन्टहरु