गण्डकी प्रदेश

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पठाइयो

नवलपुर टुडे
२०८२ फाल्गुन १९ | बिहान ०७:११ बजे

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामै निर्वाचनका सबै सामग्री पठाइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकीका सबै जिल्लामा निर्वाचनसम्बन्धी ५१ प्रकारका सामग्रीहरू सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पु¥याइसकेको छ ।

जिल्लाको सदरमुकामबाट धेरै समय लाग्ने मतदान केन्द्रहरूमा आइतबार नै कर्मचारी हिँडिसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकृत नारायण ढकालले जानकारी दिनुभयो । ‘५१ प्रकारका निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको छ । धेरै घण्टा लगाएर जानुपर्ने मतदान केन्द्रको हकमा आइतबार नै कर्मचारी त्यसतर्फ हिँडिसक्नुभएको छ । यस हिसाबले गण्डकी प्रदेशको निर्वाचन तयारी पूर्ण रूपले भइसकेको छ’, उहाँले भन्नुभयो– ‘कास्कीको हकमा रबरम्याट आयोगले वितरण गरेको थिएन त्यो पनि प्रदेशले नै व्यवस्था गरेर पठाइसकेका छौं ।’

रबर म्याट नहुँदा स्वस्तिक छाप लगाउँदा मतपत्र बिग्रने जोखिम भएकाले प्रदेश आयोगले नै व्यवस्थापन गरेर रबर म्याट वितरण गरेको र अन्य जिल्लाको हकमा सोही जिल्लाले गर्ने र सो सूचना लिन बाँकी रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार सोमवार मतदान केन्द्रमा पुगेर ४ वटा सूचना टाँस्नुपर्ने हुन्छ । मौन अवधि, चार किल्ला तोकिएको, हातहतियार निषेध, मदिरा निषेध गरिएको सूचना टाँस गर्नुपर्ने हुन्छ । जसका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र मतदान अधिकृत सोमवार नै पुगेको समेत बताउनुभयो ।

सोमवार कास्की जिल्लाका मतदान सामग्री वितरण गरिएको थियो । उहाँका अनुसार निर्वाचनको तयारी पूर्ण भएको र मतदानको दिनमात्रै कुरिरहेको छ । सोमबार राती १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएपश्चात कसैले पनि चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् ।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २ सय ५१ पुरुष, ९ लाख १४ हजार ८ सय महिला र १४ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित २ सय ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा बढी कास्कीमा १८ र सबैभन्दा कम मनाङमा ३ दलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशभर २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका र उनीहरूका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन अधिकारी ढकालका अनुसार मतदानस्थलसम्म पुग्न र सहज रूपमा काम गर्न कर्मचारीलाई गाह्रो नहोस् भनेर ‘पोर्टेबल अक्सिजन क्यान’ तथा लेक लाग्ने (अल्टिच्युड सिकनेस) औषधिको व्यवस्था गरिएको छ । प्रदेशमा ३ हजार मिटरभन्दा माथि ५४ वटा मतदान केन्द्र छन् । जसमा मुस्ताङमा २४, गोरखामा १५, मनाङमा १४ र म्याग्दीमा एउटा केन्द्र पर्छन् ।

यसै गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्ता गाउँ ४४ सय मिटरको उचाइ क्रस गरेर जानुपर्ने र मनाङको नार्पाभूमि गाउँपालिकाको ४२ सय मिटरको उचाइमा रहेको नार र फु गाउँमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने माग रहेकोमा हाल मौसम न्यानो हुँदै गएकाले बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमा नै मतदान गर्ने सहमति भएको ढकालले बताउनुभयो । उहाँका अनुसार हिमाली क्षेत्रमा जाडो छल्न निस्केका मतदाता फर्कने क्रम सुरु भएको छ ।

कमेन्टहरु