बिश्व

साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

एजेन्सी
२०८२ फाल्गुन १८ | मध्यान्ह ०४:११ बजे

तेहरान/जेरुसेलम । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ।यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा’ मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । 

रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ । 

यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् ।

इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुनः सुरु गरेको छ । अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ । 

अल जजिराको रिपोर्टअनुसार अमेरिका र इजराइलले मिलेर अहिलेसम्म इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन् । यस दौरान प्रारम्भिक ३० घण्टामा २ हजारभन्दा बढी बम खसालिएका छन् ।
यी हमलामा अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् ।

एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको खबर छ । 

फेब्रुअरी २८ मा सुरु भएको यस लडाइँको पहिलो दिन नै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई मारिएका थिए । यसबाहेक, आइतबार ३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो ।

कमेन्टहरु