समाचार

एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम

रासस
२०८२ फाल्गुन १८ | मध्यान्ह ०४:११ बजे

काठमाडाैँ । विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूलाई सतर्क बनाएको छ ।

अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने आकलन गरिएको छ । विश्व मौसम विज्ञान सङ्गठनले यसबारे अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिने प्राकृतिक जलवायु चक्र एल निनो–दक्षिणी दोलन (इएनएसओ) को तातो चरण हो । यसको विपरीत अवस्था ला निना हो भने दुवैबीच तटस्थ अवस्था पनि रहन्छ । १९औँ शताब्दीमा पेरु र इक्वेडोरका माछा मार्नेहरूले क्रिसमस नजिकिँदै गर्दा समुद्रको पानी असामान्य रूपमा तातो भएको देखेपछि त्यसलाई ‘एल निनो’ नाम दिएका थिए । स्पेनी भाषामा ‘एल निनो’ को अर्थ ‘बालक’ वा ‘बाल येशू’ हुन्छ ।

एल निनो हुँदा प्रशान्तमा पूर्वदेखि पश्चिमतिर बहने व्यापारिक हावा कमजोर भई समुद्री सतहको तापक्रम विशेषगरी मध्य र पूर्वी प्रशान्तमा बढ्छ । यसले विश्वभरि वर्षा र हावाको ढाँचा बदल्छ । अतिरिक्त समुद्री ताप वायुमण्डलमा ऊर्जा बनेर विश्व औसत तापक्रम अस्थायी रूपमा बढ्न सक्छ । एनओएएका मौसमविद् नेट जोनसनका अनुसार सामान्य एल निनोले औसत तापक्रममा करिब ०.१ देखि ०.२ डिग्री सेल्सियससम्म वृद्धि गराउन सक्छ । एल निनो सामान्यतः दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ।

यसको प्रभाव क्षेत्रअनुसार फरक पर्छ । दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, दक्षिणी अफ्रिका र उत्तरी ब्राजिलमा प्रायः सुक्खा अवस्था देखिन्छ भने हर्न अफ अफ्रिका, दक्षिणी संयुक्त राज्य अमेरिका, पेरु र इक्वेडरमा बढी वर्षा हुन्छ । पछिल्लो एल निनो २०२३–२०२४ मा भएको थियो, जसले २०२३ लाई दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो ।

युरोपेली सङ्घ (इयु) को कोपर्निकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुन्टेम्पोका अनुसार यस वर्ष एल निनो विकसित भए सन् २०२६ अर्को रेकर्ड तोड्ने वर्ष हुन सक्छ । आयरल्यान्डको राष्ट्रिय मौसम सेवाका वैज्ञानिक टिडो सेमलरले एल निनोको पूर्ण प्रभाव देखिन समय लाग्ने भएकाले सन् २०२७ मा तापक्रम झन् उच्च हुन सक्ने चेतावनी दिनुभयो । उहाँका अनुसार विश्व तापवृद्धिको दीर्घकालीन प्रवृत्तिका कारण एल निनो नहुँदा पनि सन् २०२६ तातो वर्ष बन्ने जोखिम कायमै छ ।

ला निना भने यसको चिसो चरण हो, जसले पूर्वी प्रशान्तलाई एकदेखि तीन वर्षसम्म चिसो बनाउँछ र एल निनोको उल्टो प्रभाव पार्छ । अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया र दक्षिणपूर्वी अफ्रिकामा बढी वर्षा गराउँछ भने दक्षिण अमेरिकाका केही भागमा सुक्खा अवस्था ल्याउँछ । डिसेम्बर २०२४ मा सुरु भएको पछिल्लो ला निना छोटो र कमजोर रहँदै तटस्थ चरणमा प्रवेश गरेको थियो, तर त्यसले पनि सन् २०२५ लाई तेस्रो सबैभन्दा तातो वर्ष हुनबाट रोक्न सकेन ।

यसबीच एनओएएले एल निनो मापन गर्ने विधि परिमार्जन गरेको छ । पुरानो ओसेनिक निनो इन्डेक्स (ओएनआई) ले ३० वर्षको औसत तापक्रमसँग तुलना गर्थ्याे, तर तीव्र गतिमा तातिरहेका समुद्रका कारण त्यो आधार पुरानो हुने भएकाले नयाँ रिलेटिभ ओसेनिक निनो इन्डेक्स (रोनी) अपनाइएको छ । यो विधिले पूर्व–मध्य प्रशान्तलाई बाँकी उष्णकटिबन्धीय क्षेत्रसँग तुलना गर्दै वास्तविक समयमा अवस्था मूल्याङ्कन गर्ने अधिक स्पष्ट र भरपर्दो उपाय प्रदान गर्ने एनओएएको दाबी छ।

कमेन्टहरु