राजनीति

तनहुँ १ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा कांग्रेसमा प्रवेश, भट्टराईलाई सहज

एजेन्सी
२०८२ फाल्गुन १८ | मध्यान्ह ०२:११ बजे

दमौली, फागुन १८। तनहुँ क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आइतबार साँझ आयोजित एक विशेष कार्यक्रमका बिच लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कुनै पनि किसिमको अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको लौडारीले स्पष्ट पारेका छन् ।

उनले भट्टराईको जीत सुनिश्चित गर्न आफ्नो समूहको करिब एक हजार छ सय मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरे । नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार गोविन्द भट्टराईले आफू नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गर्दै आफू सधैँ युवा पुस्ता (जेन–जी) को भावना बुझ्ने र उनीहरूकै प्रतिनिधित्व गर्ने नेता भएको बताए ।

उनले वर्तमान सभापति गगनकुमार थापा युवा हुँदा नै आफूले नेविसंघको टिकट दिएर राजनीतिमा अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै युवाहरूलाई नेतृत्वमा ल्याउन आफ्नो सधैँ महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

आफू युवा अवस्थादेखि नै भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेको चर्चा गर्दै भट्टराईले अहिलेको नयाँ पुस्ताको मुख्य माग सुशासन, भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु रहेको र त्यसलाई नै आफूले प्रमुख प्राथमिकतामा राखेको प्रतिबद्धता व्यक्त गरे ।

कमेन्टहरु