काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान


काठमाडौं, फागुन १८। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ ।यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ ।
उनले भने, ‘टिकटहरू धेरै नै बुकिङ भएका छन् । ९ गतेदेखि निर्वाचनका लागि जाने मानिसहरूको चाप बढेको छ । वुधबार बिहान १२ बजेसम्म करिब ८–९ लाख मानिस बाहिरिसक्ने अनुमान छ । ठ्याक्कै रेकर्ड भने अहिलेसम्म सबै ठाउँबाट प्राप्त भएको छैन । निर्वाचनको चाप बढेको छ । साथै विदा र होली पर्वको अवसरले गर्दा पनि तराइतिरका पनि धेरै मतदाता जानेछन् ।’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उपत्यकाबाट अहिलेसम्म निर्वाचनको लागि करिब सात लाख मानिस बाहिरिएको जानकारी दिए । मतदाताको आवतजावतको लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाइएको पनि उनले बताए ।
‘अहिलेसम्म निर्वाचनको लागि करिब सात लाख मानिस बाहिरिएका छन् । तर बाहिरिने क्रम अझै जारी छ । हामीले काठमाडौं उपत्यकामा यातायातको निगरानी कडा बनाएका छौं र मतदाताको आवतजावतको लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाएका छौं ।’
आगामी दुई दिनमा ८–९ लाख मानिस मतदाता बाहिरिने यो क्रम निर्वाचनको तयारीको सङ्केत पनि मानिन्छ । धेरै मानिसले घर–गाउँ फर्केर आफ्नो मतदान अधिकार प्रयोग गर्ने भएकाले प्रशासन र यातायात व्यवसायीहरू दुवै सतर्क रहेका छन् ।






















