धर्म–संस्कृति/रीतिथिति, समाज

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा पर्व मनाइँदै

नवलपुर टुडे
२०८२ फाल्गुन १८ | बिहान ०७:११ बजे

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने विश्वास गरिन्छ।

काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि युवायुवती, बालबालिका तथा सर्वसाधारणले एकापसमा रङ र अबिर दल्दै तथा लोला खेल्दै उत्सव मनाएका छन्। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व पछिल्ला वर्षमा भने सभ्य र मर्यादित बन्दै गएको छ। प्रहरीको सक्रियतापछि इच्छाविपरीत रङ दल्ने र फोहर पानी छ्याप्ने जस्ता गतिविधि न्यून भएका छन्।

विशेषगरी महिलामाथि जबर्जस्ती लोला हान्ने प्रवृत्ति घटेको भन्दै सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन्।

फागुपूर्णिमाका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चिर विधिपूर्वक ढालिने कार्यक्रम रहेको छ। बाजागाजाका साथ चिरलाई टुँडिखेलमा लगी जलाउने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ सर्वसाधारणले लिने र खरानीको टीका लगाउने चलन छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि रङ्गीचङ्गी ध्वजापताकासहित चिर गाडेर पूजाआजा गरेसँगै फागु पर्व सुरु हुने परम्परा छ। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालबाट ल्याइएको चामलको भात र राँगाको मासु खुवाउने तथा ‘जधु’ धारामा चुठाउने चलन रहेको बताइन्छ।

फागुपर्वसँग त्रेतायुगको प्रह्लाद र होलिकाको कथा जोडिएको छ। दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले नछुने वरदान पाएकी बहिनी होलिकालाई आगोमा बस्न लगाउँदा होलिका भष्म भइन् भने प्रह्लाद सुरक्षित रहे। त्यसैको प्रतीकका रूपमा होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ।

धर्मग्रन्थअनुसार द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतना भगवान् श्रीकृष्णलाई मार्न असफल भई मारिएपछि व्रजवासीले उत्सव मनाएको प्रसंग पनि यस पर्वसँग जोडिएको उल्लेख छ।

आयुर्वेदविद्हरूका अनुसार राम्रो तरिकाले तयार पारिएका प्राकृतिक रङ तथा अबिरले छालाका रोग निवारणमा सहयोग पुर्‍याउने विश्वास छ। चिर जलाउँदा निस्कने धुवाँले शीतकालीन रोगका कीटाणु नष्ट गर्ने जनविश्वास पनि रहिआएको छ।

तराईमा भोलि मनाइने
हिमाली तथा पहाडी जिल्लामा आज मनाइए पनि तराई क्षेत्रमा भने फागुपूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। यस वर्ष तराईका जिल्लामा मङ्गलबार होली मनाइनेछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ।

पछिल्ला वर्षमा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा हानिकारक रासायनिक रङ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हिर्काउने जस्ता विकृति क्रमशः घट्दै गएका छन्। अधिकांश स्थानमा मर्यादित र सुरक्षित रूपमा पर्व मनाउने अभ्यास बढ्दो छ।

विदेशमा पनि रङको पर्व
नेपाल र भारतबाहेक अन्य मुलुकमा पनि फरक–फरक नाममा रङको पर्व मनाउने परम्परा रहेको पाइन्छ। इटाली, चीन, अमेरिका, श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्टलगायत देशमा आ–आफ्नै मौलिक शैलीमा पानी, रङ, नाचगान र धार्मिक अनुष्ठानमार्फत उत्सव मनाइन्छ।

नाम र शैली फरक भए पनि फागु पर्वले विश्वभर आपसी सद्भाव, सामाजिक एकता र उल्लासको सन्देश प्रवाह गर्ने साझा विशेषता बोकेको छ।

कमेन्टहरु