होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ: उपराष्ट्रपति यादव


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गरेका छन् ।
परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पुर्याउने उपराष्ट्रपति यादवको भनाइ छ ।
उनले भनेका छन्, “प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटाबलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।”






















