नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम


नवलपरासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।
मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ ।
सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्र्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश हुने गर्दछ । आसन्न निर्वाचनका लागि दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी कूल एक लाख ३७ हजार ८१ मतदाता रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२ ,महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन जना गरी कूल एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् । नवलपुरमा ११४ वटा मतदानस्थल र ३११ मतदान केन्द्र रहेका छन् । एउटा अस्थायी मतदान केन्द्र रहेको छ । सबै मतदान स्थलमा गरी कूल एक हजार ८७९ कर्मचारी परिचालन गरिएको छ ।






















