मुटुलाई स्वस्थ राख्न चाहनु हुन्छ ? सुत्नुभन्दा ३ घण्टाअघि बन्द गर्नुस् खाना


काठमाडौँ । राति अबेर खाना खाने वा मोबाइल फोन स्क्रोल गर्दै, रिल्स वा वेब सिरिजका एपिसोडहरू हेर्ने यो अचेल धेरैको बानी बनेको छ । सामान्य दिनचर्या भएको छ ।यस्तो बानीले स्वास्थ्यमा कुनै पनि हानी गर्दैन भन्ने हामीलाई लाग्न सक्छ । तर, यो बानीले हाम्रो मुटुको स्वास्थ्य विरुद्ध चुपचाप काम गर्न सक्ने वैज्ञानिकहरू भन्छन् ।
अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो बानीको गहन अध्ययन गरे । अध्ययनमा सहभागीहरूलाई उनीहरूले न त क्यालोरी घटाउन भने न त आफ्नो आहार परिवर्तन गर्न नै भने । बरु एउटा सानो सुझाव दिए, सुत्नुभन्दा कम्तीमा तीन घण्टा अगाडि खाना बन्द गर्ने अनि रातिको समयभर केही पनि नखाने ।
शरीरको जैविक घडी र खानाको समय
- हाम्रो शरीरले २४ घण्टाको जैविक घडी (सर्काडियन लय)मा काम गर्छ ।
- रातमा रक्तचाप कम हुनुपर्छ ।
- मुटुको धड्कन सुस्त हुनुपर्छ ।
- रगतमा चिनी नियन्त्रण गर्नुपर्छ ।
तर जब हामी राती अबेर खाना खान्छौँ, शरीरले अझै दिन नै चलिरहेको छ भन्ने सङ्केत पाउँछ । यसबाहेक, उज्यालो प्रकाश र मोबाइल स्क्रिनले पनि निद्राको तयारीमा ढिलाइ गर्छ । यसले मुटु र मेटाबोलिजम तनाव बढाउन सक्छ । यस अध्ययनका लेखक प्रोफेसर फिलिस गीका अनुसार विशेष गरी निद्राको सम्बन्धमा हामीले के र कति खान्छौँ भन्ने कुरा महत्त्वपूर्ण नभएको बरु कहिले खानुहुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ ।
- के गरिएको थियो अध्ययनमा ?
अध्ययनमा ३६ देखि ७५ वर्ष उमेरका ३९ जना बढी तौल भएका वा मोटा व्यक्तिहरू समावेश थिए, जो मुटु र मेटाबोलिक रोगहरूको उच्च जोखिममा थिए । अध्ययन ७ दशमलव ५ हप्तासम्म चलेको थियो । अध्ययनमा सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहले आफ्नो सामान्य दिनचर्या अनुसार ११–१३ घण्टा उपवास बसे । दोस्रो समूहले उपवास अवधि बढाएर १३–१६ घण्टा पुर्याए अनि सुत्नुभन्दा कम्तीमा ३ घण्टा अघि खाना खान बन्द गरे । शरीरको जैविक घडी सन्तुलनमा राख्न सुत्नुभन्दा ३ घण्टा अगाडि बत्ती मधुरो पार्न पनि दुवै समूहलाई सल्लाह दिइएको थियो ।
के आयो त परिणाम ?
- लगभग ७ दशमलव ५ हप्ता पछि उल्लेखनीय परिवर्तनहरू देखियो ।
- रातको समयमा रक्तचाप लगभग ३ दशमलव ५ प्रतिशत कम थियो ।
- निद्राको समयमा मुटुको धड्कनमा ५ प्रतिशतको कमी थियो ।
- रगतमा चिनी नियन्त्रणमा सुधार थियो ।
- इन्सुलिन स्राव पनि राम्रो पाइयो ।
यसको अर्थ शरीरले दिन र रात राम्रोसँग सिंक्रोनाइज गरेको छ भन्ने थियो । दिनको समयमा बढी ऊर्जा र रातमा गहिरो आराम मुटुको लागि स्वस्थ मानिन्छ ।
सरल तर प्रभावकारी उपायहरू:
स्वास्थ्य सुधार गर्न कडा आहार वा कडा व्यायाम सधैँ आवश्यक हुँदैन भन्ने कुरा यस अध्ययनले स्पष्ट रूपमा देखाएको छ । कहिलेकाहीँ, खाना खाने समय परिवर्तन गर्नाले मात्रै पनि ठुलो फरक पार्न सक्छ । मध्यम उमेर र वृद्ध व्यक्तिहरू, विशेष गरी हृदय रोग वा मधुमेहको जोखिममा रहेकाहरूका लागि, यो एक सरल र औषधि–रहित दृष्टिकोण हुन सक्छ ।
अहिलेको भागदौडपूर्ण र व्यस्त जीवनमा हामी प्रायः हाम्रो शरीरको प्राकृतिक घडीलाई बेवास्ता गर्छाैँ। यद्यपि, यो अनुसन्धानले हाम्रो शरीर एक निश्चित तालिकामा काम गर्छ भन्ने कुरा हामीलाई स्मरण गराएको छ ।






















