राजमार्गमा खस्यो पैसा बोकेको सैन्य विमान, ११ जनाको मृत्यु


सान्ता क्रुज, फागुन १६ । बोलिभियाको पश्चिमी सहर एल अल्टोमा एउटा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सान्ता क्रुज सहरबाट नोटहरू बोकेर एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको बोलिभियन वायुसेनाको सी(१३० हर्कुलस विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको राजमार्गमा पुगेपछि ठूलो दुर्घटना भएको हो ।
स्थानीय समयअनुसार शुक्रबार साँझ ६ः२० बजे भएको यस दुर्घटनामा विमानले राजमार्गमा गुडिरहेका सवारीसाधनहरूलाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार विमानको टायर उछिट्टिएर गुडिरहेको कारमा लाग्दा सर्वसाधारणहरू घाइते भएका छन्। दुर्घटनालगत्तै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो भने भग्नावशेष र क्षतिग्रस्त सवारीसाधनका कारण राजमार्गमा पनि अवरोध पुगेको थियो।
अधिकारीहरूले दुर्घटनास्थलमा सर्वसाधारणलाई नजान र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। उद्धार टोलीले भग्नावशेषबाट शवहरू निकाल्ने र घाइतेहरूलाई अस्पताल पुर्याउने कार्य जारी राखेका छन्। विमानमा के कति प्राविधिक समस्या थियो वा मौसमका कारण दुर्घटना भयो भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।






















