प्रबास

कियारा र आलियाको रेकर्ड ध्वस्त : इन्स्टाग्राममा रश्मिकाको राज

एजेन्सी
२०८२ फाल्गुन १५ | मध्यान्ह ०५:११ बजे

उदयपुर । दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डाको विवाहको खबरले यतिबेला इन्टरनेटमा तहल्का मच्चाएको छ। बिहीबार भएको उनीहरूको विवाहका तस्बिरहरूले बलिउड इतिहासमै सामाजिक सञ्जालमा सबैभन्दा बढी मन पराइएका सेलिब्रेटी पोस्टहरूको कीर्तिमान तोडेका छन्।

 
विवाहको तस्बिर सार्वजनिक भएको २४ घण्टा नबित्दै रश्मिकाको पोस्टमा १ करोड ८० लाखभन्दा बढी लाइक आइसकेका छन्। यसअघि सन् २०२३ मा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाहको पोस्टले १५.८ मिलियन लाइक पाएर कीर्तिमान राखेको थियो। 

त्यस्तै, सन् २०२२ मा आलिया भट्ट र रणवीर कपुरको विवाहको घोषणामा १४.१ मिलियन लाइक आएका थिए। रश्मिका र विजयले यी सबै पुराना रेकर्डहरूलाई निकै पछि छाडेका छन्। सन् २०१७ मा आधिकारिक घोषणा सुरु गर्ने विराट कोहली र अनुष्का शर्माको पोस्टमा हालसम्म करिब ७.७ मिलियन लाइक मात्र छ।

 

उदयपुरस्थित आईटीसी मेमेन्तोसमा आयोजित यो विवाह समारोहमा तेलुगु र कोडवा दुवै परम्पराको सुन्दर संगम देखिएको थियो। बिहानीको वैवाहिक समारोहपछि रश्मिकाले सामाजिक सञ्जालमा पहिलो पटक विजयलाई आफ्नो ‘श्रीमान्’ को रूपमा परिचय गराइन्। आफ्ना पति विजयका लागि उनले एउटा लामो र निकै भावुक सन्देश पनि लेखेकी छन्।

 

रश्मिकाले विजयलाई आफ्नो जीवनको सच्चा प्रेम सिकाउने र शान्तिको अर्थ बुझाउने व्यक्तिको रूपमा वर्णन गरेकी छन्। उनले लेखेकी छन्, ‘मलाई ठूलो सपना देख्नु ठिक हो भनेर सिकाउने र म जे छु त्यसमा विश्वास गर्ने मान्छे नै विजय हुन्। म आज जुन महिला बन्न सफल भएकी छु, त्यो तिम्रै कारणले हो।’ उनले विजयसँगको यात्रालाई लिएर निकै उत्साहित रहेको र आफ्नो जीवनका हरेक सफलता र संघर्षले अब विजयको साथले पूर्णता पाएको बताएकी छन्।

 

लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि यो जोडीले आफ्नो सम्बन्धलाई गोप्य राख्दै आएको थियो। अन्ततः विवाहको घोषणा र यी तस्बिरहरूले उनीहरूका लाखौँ प्रशंसकहरूलाई खुसी र आश्चर्यमा पारेको छ। इन्टरनेटमा अहिले जताततै यो ‘पावर कपल’ को तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्।

कमेन्टहरु