संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छः नेता निधि


धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताएका छन्।
नेता निधिले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्न आवश्यक रहेको बताए । “संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको कार्यान्वयनमा इमान्दारिता र प्रतिबद्धता जरूरी छ”, उहाँले भन्नुभयो, “जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति बढाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ ।”
नेता निधिले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधानमाथि अनावश्यक टीकाटिप्पणी गर्नेभन्दा यसको सफल कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।
“सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ, तर “राजनीतिक स्थायित्वविना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले दलहरूबीच सहमति र सहकार्यको संस्कृति विकास गर्नुपर्छ । परिवर्तनलाई संस्थागत गर्नुपर्छ”, उनले भने।
पत्रकारहरूको जिज्ञासामा नेता निधिले मधेस प्रदेशमा विकास निर्माणका सवाल, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणजस्ता विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । यसका लागि तीनै तहका सरकार संवेदनशील बन्नुपर्ने उनको आग्रह थियो।






















