प्रबास

एप्स्टिनका अपराधबारे मलाई थाहा थिएनः हिलारी क्लिन्टन

नवलपुर टुडे
२०८२ फाल्गुन १५ | मध्यान्ह १२:११ बजे

वासिङ्टन डिसी । अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कंग्रेसको एउटा समितिसमक्ष आफूलाई जेफ्री एपस्टिनका अपराधबारे थाहा नभएको बताएकी छिन् । 

उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि एप्स्टिनसँगको विगत सम्बन्धबारे शपथसहित बयान दिन आग्रह गरेकी छिन् । घण्टौँसम्म बन्द ढोकाभित्र भएको बयानपछि क्लिन्टनले सञ्चारकर्मीसँग भनिन्, ‘म सत्य बाहिर आएको हेर्न चाहन्छु’ । हिलारीका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनले शुक्रबार समितिसमक्ष बयान दिँदैछन् ।  

कंग्रेसको समनलाई क्लिन्टन दम्पतीले सुरुमा राजनीतिबाट प्रेरित भन्दै अस्वीकार गरेका थिए । तर कंग्रेसले अवहेलनासम्बन्धी कारबाहीको सम्भावना बढेपछि उनीहरू बयान दिन सहमत भए ।  क्लिन्टन दम्पती र ट्रम्प तीनै पक्षले एप्स्टिन प्रकरणमा कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।बिहीबार प्रतिनिधि सभाको हाउस ओभरसाइट कमिटीसमक्ष करिब छ घण्टा बयान दिएपछि क्लिन्टनले आफ्नो बयान सार्वजनिक नगरिएकोमा निराश भएको बताइन् । बयान सार्वजनिक भएको भए आफूले बाहिर आएर त्यसको व्याख्या गर्नुपर्ने अवस्था नआउने उनले भनेकी थिइन् ।

 

समितिका अध्यक्ष जेम्स कोमरले अनुसन्धानको प्रकृतिबारे महत्वपूर्ण प्रश्न उठाएको र आफ्ना धारणा सुन्ने अवसर दिएकोमा क्लिन्टनले उनको प्रशंसा गरेकी छिन् । रिपब्लिकन सदस्यहरूले एप्स्टिन वा उनकी सहयोगी घिस्लेन म्याक्सवेलसम्बन्धमा अन्य साक्षीहरूसँग पर्याप्त प्रश्न नगरेको भन्दै उनले आलोचना पनि गरिन् । एप्स्टिन प्रकरणसँग सम्बन्धित राजनीतिक र कानुनी बहस अमेरिका भित्र अझै तीव्र बनेको छ ।

कमेन्टहरु