गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो


गुर्जा (म्याग्दी), फागुन १५। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।
भैसीमानेदेखि पाल्टनसम्म थप करिब तीन किलोमिटर सडकको मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । “थप करिब दुई किलोमिटर मार्ग खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिने भएको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीको उपकरण (डोजर) बिग्रिएकाले केही ढिलाइ भएको छ । सरासर काम हुने हो भने अब हप्ता दश दिनमा गुर्जामा बाटो पुग्छ । गाडी चढेर जान सकिन्छ ।”
दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । हाल गाडी पुग्ने पाल्टनदेखि २० मिनेट पैदलयात्रा गरेर गुर्जा पुगिने धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।
“गाउँ नजिकैसम्म बाटो र गाडी आउँदा गुर्जावासी खुसी र उत्साही भएका छौँ”, उहाँले भन्नुभयो, “गुर्जावासीले सडक ल्याउन योजना बनाउँदा पत्याएका थिएनन् । गाउँ नजिकै गाडी आउन थालेपछि गुर्जावासीमा उत्साह छाएको हो ।”
गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताउनुभयो । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ ।
गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि गुर्जावासीले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ ।
अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घर रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ ।






















