नवलपरासीका सीमा नाका ७२ घण्टा बन्द रहने


नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको नवलपरासीका सीमा नाकाहरु बन्द हुने भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय नवलपरासीले एक सूचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका नवलपरासीका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द रहने जनाएको छ ।
सूचना अनुसार, फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राति १२ बजेसम्म सीमा नाकाहरु बन्द रहनेछ । उक्त अवधीभर सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।
साथै फागुन २० गते (बुधवार) राति १२ बजेदेखि फागुन २१ (बिहीवार) मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दुग्धका ट्यांकर, दकमल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन चलाउन नपाईने जनाएको छ ।
त्यस्तै अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको हस्ताक्षर रहेको सुचनामा उल्लेख गरिएको छ ।























