नवलपरासीमा आज राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण र सेवनमा रोक


नवलपरासी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपरासी जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त आदेश जारी गरेको हो।
साहयक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीद्वारा बिहिवार जारी हस्ताक्षर सूचनाअनुसार यही फागुन १४ गते राती १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन निषेध गरिएको छ। सूचनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
साथै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने पनि प्रशासनले जनाएको छ । निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीको सूचनामा उल्लेख गरिएको छ।























