चितवनको माझी, मुसहर बस्तीमा निर्वाचनले छोएन


चितवन, फागुन १४। देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन ।रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार आउनु भएको छैन ।”
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्नुहुन्न । उहाँलाई मतदान गर्ने रुचि समेत देखिन्न । उहाँले भन्नुभयो, “मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।” आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आउनुभएका उहाँ रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउनुहुन्छ ।
कक्षा १२ सकेर घरमै सीप सिक्दै आउनु भएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरुले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।”






















