देश

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

रासस
२०८२ फाल्गुन १३ | मध्यान्ह ०७:११ बजे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका निम्ति सवारीसाधन सञ्चालन गर्न अनुमति लिनुपर्ने भएको छ । कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका निम्ति सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो ।

निर्वाचन आयोगले जारी गरेको ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाई उडान नरोकिने व्यवस्था छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय र काठमाडौंमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका निम्ति सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

यस्तै, राजमार्गमा चल्नुपर्ने सवारीसाधनको आवागमनलाई व्यवस्थित तुल्याउन कार्यविधिमा व्यवस्था गरिएको छ ।

साथै, अत्यावश्यक सेवा, कूटनीतिक नियोग, मानव अधिकार आयोगबाहेक अरू कुनै प्रकारका सवारीसाधन अनुमित लिएर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कमेन्टहरु