दक्षिणी यमनमा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु


सना । दक्षिणी यमनमा बस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मर्नेमा आठ महिला र बालबालिका पनि रहेका छन् । स्थानीय अधिकारीका अनुसार दुर्घटना मङ्गलवार अब्यान र शब्वा प्रान्त जोड्ने मुख्य सडक अन्तर्गत अल–महफद जिल्लाको लाहमार क्षेत्रमा भएको हो ।
दुई सवारी एक आपसमा ठोक्किँदा भीषण आगलागी भएको र सानो बस पूर्ण रूपमा जलेको बताइएको छ । आगलागीका कारण बसमा सवार कोही पनि जीवित बच्न नसकेको टर्कीको आनादोलु समाचार एजेन्सीले जनाएको छ ।
सुरक्षा अधिकारीहरूको भनाइ उद्धरण गर्दै रोयटर्सले दुर्घटनाको कारण खतरनाक मोडमा गलत ओभरटेक भएको उल्लेख गरेको छ । साथै बसमा इन्धनका रूपमा प्रयोग गरिएको ग्यासले तत्काल आगो सल्किन सहयोग पुगेको समेत बताइएको छ । जसका कारण बसभित्र रहेका सबै यात्रु जलेका थिए । हालैका वर्षहरूमा यसलाई यमनको दोस्रो सबैभन्दा घातक सडक दुर्घटना मानिएको छ ।
यसलाई सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा ठुलो दुर्घटना बताइएको छ । गतवर्ष अब्यान प्रान्तको जोखिमपूर्ण पहाडी सडकमा भएको अर्को दुर्घटनामा १७ जनाको ज्यान गएको थियो । यमनमा सडक दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च छ ।
यसका पछाडि दुर्गम भूगोल, कमजोर सडक पूर्वाधार र वर्षाैँदेखि जारी द्वन्द्वलाई प्रमुख कारण मानिन्छ । सन् २०१४ देखि हुथी विद्रोही र सरकारी फौजबिचको सङ्घर्षले देशको सडक सञ्जाललाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएको छ ।






















