ट्रम्पको १०८ मिनेटको सम्बोधनः जितको दाबी, विवादको छायाँ


वासिङ्टन, फागुन १३। राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नुभएको छ । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उहाँको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ ।
काङ्ग्रेसको संयुक्त सत्रअघि बोल्दै राष्ट्रपति ट्रम्पले अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र मतदाताले रिपब्लिकनलाई समर्थन गरे अझ प्रगति हुने बताउनुभयो । “हाम्रो देश फेरि जित्दैछ”, उहाँले भन्नुभयो, “हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।”
सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश काङ्ग्रेसको संयुक्त सत्रमा भइरहेको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमै उपस्थित हुनुहुन्थ्यो । भाषण चलिरहेकै बेला शुल्कसम्बन्धी निर्णयको प्रसङ्ग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो । क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला रूपमा आलोचना गर्नुभयो भने अल ग्रीनलाई सम्बोधन सुरु भएको केहीबेरमै विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो ।
राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै ‘अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा’ गर्नुपर्ने बताउनुभयो । उहाँले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सार्नुभयो । तर जीवनयापनको बढ्दो लागत र अर्थतन्त्रको सुस्त वृद्धि जस्ता विषयले अपेक्षाकृत कम समय पाए । उच्च मूल्य र स्वास्थ्य खर्चबारे डेमोक्रेटलाई दोष दिँदै उहाँले ‘त्यो समस्या तपाईँहरूले सिर्जना गर्नुभयो’ भन्नुभयो ।
भाषणका भावनात्मक क्षणहरूमा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो । गोलकिपर कनर हेलेब्यूकलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम दिने घोषणा र नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई पर्पल हार्ट प्रदान गरिँदा दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए । सन् २०२० मा रेडियो होस्ट रस लिम्बगलाई दिइएको सम्मानको स्मरण पनि गराइयो ।
विदेश नीतिमा राष्ट्रपति ट्रम्पले इरानलाई ‘आणविक हतियार कहिल्यै राख्न नदिने’ चेतावनी दोहोर्याउनुभयो । मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको पृष्ठभूमिमा उहाँले कूटनीतिक समाधान प्राथमिकता रहेको तर आवश्यक परे कठोर कदम चाल्ने बताउनुभयो । उहाँले तेहरानमाथिको हवाई आक्रमण र भेनेजुएलामा निकोलस मदुरोलाई अपदस्थ गरिएको कारबाहीको प्रशंसा गर्नुभयो ।
डेमोक्रेटिक प्रतिक्रिया दिँदै भर्जिनियाकी गभर्नर एबिगेल स्प्यानबर्गरले शुल्क नीति, आप्रवासन कदम र सङ्घीय खर्च कटौतीको आलोचना गर्नुभयो । “सर्वोच्च अदालतले शुल्क खारेज गरे पनि क्षति भइसकेको छ”, उहाँले भन्नुभयो ।
मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको यो लामो सम्बोधनले राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश स्पष्ट बनाएको छ—उहाँ उपलब्धि प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउन चाहनुहुन्छ, तर कङ्ग्रेसभित्रको विभाजन र आर्थिक चिन्ताले त्यसलाई चुनौती दिइरहेको छ ।






















