बिश्व

म्याक मिनीको केही उत्पादन अमेरिका सार्दैछ एप्पल

एजेन्सी
२०८२ फाल्गुन १३ | मध्यान्ह १२:११ बजे

क्यालिफोर्निया । अमेरिकी प्रविधि दिग्गज एप्पलले आफ्ना म्याक मिनी डेस्कटप कम्प्युटरको केही उत्पादन पहिलो पटक टेक्ससको ह्युस्टन कारखानामा गर्ने घोषणा गरेको छ । कम्पनीले मंगलबार यसको योजना सार्वजनिक गर्दै महत्त्वपूर्ण विस्तार गर्ने भनेको छ । यसमा म्याक मिनीकोसाथमा कृत्रिम बौद्धिकता (एआई–सर्भरहरूको उत्पादन पनि समावेश हुने बताइएको छ ।

एप्पलले सन् २०२५ मा अमेरिकामा लगानी ६ अर्ब डलरले बढाउने प्रतिबद्धता जनाएको थियो । हालसम्म साना र कम्प्याक्ट म्याक मिनी कम्प्युटरहरू एशियामा उत्पादन हुँदै आएका थिए र कुल म्याक बिक्रीको ५५ भन्दा कम हिस्सा ओगटेका छन् । कम्पनीका प्रमुख कार्यकारी टिम कुकले भने, ‘एप्पल अमेरिकी उत्पादनको भविष्यप्रति गहन रूपमा प्रतिबद्ध छ, र हामी ह्युस्टनमा आफ्नो उपस्थितिलाई विस्तार गर्न पाउँदा गर्व गर्छौ । म्याक मिनीको उत्पादन यस वर्षको अन्त्यतिर सुरु हुने छ ।’  साथै, कम्पनीले ह्युस्टनमा उन्नत उत्पादन तालिम केन्द्र स्थापना गर्ने योजनाको समेत जानकारी दिएको छ ।

यो कदम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दबाबपछि आएको हो । ट्रम्पले विभिन्न क्षेत्रका निर्माता कम्पनीहरूलाई अमेरिका भित्र उत्पादन ल्याउन दबाब दिएका थिए । ट्रम्पले गत वर्ष एप्पललाई लक्षित गर्दै यदि कम्पनीले आइफोनको उत्पादन अमेरिका ल्याएन भने ट्यारिफ बढाउने धम्की दिएका थिए ।

 

ट्रम्पको दोस्रो कार्यकालमा एप्पलले ट्रम्पले अतिरिक्त भन्सार महसुल (ट्यारिफ)मा मात्रै ३ अर्ब डलरभन्दा बढी तिर्नु परेको थियो । सर्वाेच्च अदालतले ट्रम्पका व्यापक ट्यारिफ रोकेपछि ट्रम्पले १० प्रतिशत विश्वव्यापी दर लागू गर्ने घोषणा गरेका थिए । त्यसपछि शनिबार उनले यो दर १५ प्रतिशत हुने भनेका थिए ।

 

टिम कुकले व्यक्तिगत रूपमा ट्रम्पको उद्घाटन समितिमा ४१ मिलियन दान दिएका थिए । अगस्तमा अतिरिक्त अमेरिकी लगानी घोषणामा ट्रम्पसँगै उभिएर कुकले एप्पलको लगानीले पहिले नै परिणाम देखाउँदै आएको दाबी गरेका थिए । अमेरिकी आपूर्ति श्रृंखला परिवर्तनमा समय लाग्नेछ, तर ह्वाइट हाउसले ट्रम्पको नीतिले कम्पनीहरूलाई अमेरिकी लगानी बढाउन प्रेरित गरेको दाबी गरेको विश्लेषकहरूले भनेका छन् । यस योजना अन्तर्गत, एप्पलले उत्पादन विस्तार गर्नुको सागै अमेरिकामा उत्पादन तालिम र प्रविधिमा पनि लगानी गर्दै देशभित्र आफ्नो उत्पादन क्षमता मजबुत पार्ने लक्ष्य राखेको छ ।

कमेन्टहरु