बिश्व

नासाको ऐतिहासिक चन्द्रमा अभियानमा फेरि प्राविधिक अड्चन, यात्रा अनिश्चित

एजेन्सी
२०८२ फाल्गुन १३ | मध्यान्ह १२:११ बजे

फ्लोरिडा । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको महत्त्वाकांक्षी ‘आर्टेमिस-२’ अभियानमा पुनः एकपटक प्राविधिक समस्या देखिएपछि चार अन्तरिक्ष यात्रीको चन्द्रमा यात्रा अनिश्चित बनेको छ । रकेटको माथिल्लो भागमा हिलियम ग्यासको प्रवाहमा समस्या देखिएपछि नासाले मार्च महिनामा गर्ने भनिएको प्रक्षेपणको योजना रद्द गरेको छ ।

यो समस्या समाधानका लागि विशाल एसएलएस रकेटलाई प्रक्षेपण स्थलबाट हटाएर मर्मतका लागि भेइकल एसेम्बली बिल्डिङमा फिर्ता लैजानुपर्ने भएको हो । अघिल्लो हप्ता मात्रै हाइड्रोजन इन्धन चुहावटको समस्या समाधान भएको भन्दै नासाका अधिकारीहरूले मार्च ६ मा प्रक्षेपण हुनेमा विश्वास व्यक्त गरेका थिए ।

तर, वेट ड्रेस रिहर्सलपछि देखिएको हिलियमको नयाँ समस्याले वैज्ञानिकहरूलाई अचम्ममा पारेको छ । हिलियम ग्यासले रकेटको इन्धन ट्याङ्कीमा चाप पैदा गर्ने र इन्धन नलीहरू सफा गर्ने महत्त्वपूर्ण काम गर्छ । नासाका प्रशासक जेरेड आइज्याकम्यानका अनुसार रकेटको भल्भ वा फिल्टरमा समस्या भएको हुन सक्छ, जसको मर्मत प्रक्षेपण स्थलमा सम्भव छैन ।

 

अब नासाले अप्रिल महिनामा प्रक्षेपण गर्ने लक्ष्य राखेको छ, तर यसका लागि पनि प्राविधिक चुनौतीहरू कायमै छन् । ३५ लाख पाउण्ड तौल भएको विशाल रकेटलाई ८ माइलको दुरीमा ओसारपसार गर्दा आउने कम्पनले पहिले नै नाजुक अवस्थामा रहेको हाइड्रोजन प्रणालीमा थप समस्या ल्याउन सक्ने चिन्ता इन्जिनियरहरूले व्यक्त गरेका छन् । हाइड्रोजन ग्यास अत्यन्तै हलुका हुने भएकाले यसलाई चुहावट हुनबाट रोक्न नासाले लामो समयदेखि संघर्ष गरिरहेको छ ।

 

आर्टेमिस-२ अभियान अन्तर्गत नासाका रेड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानेडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सनले चन्द्रमाको १० दिने यात्रा गर्ने तालिका छ । सन् १९७२ को एपोलो कार्यक्रम सकिएपछि मानव जाति पहिलोपटक गहिरो अन्तरिक्षको यात्रामा निस्कन लागेको हो । प्राविधिक रूपमा अत्यन्तै जटिल मानिएको यो अभियान सफल भएमा यसले भविष्यमा मानवलाई पुनः चन्द्रमाको सतहमा उतार्ने बाटो खोल्नेछ ।

कमेन्टहरु