नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

रासस
२०८२ फाल्गुन १२ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समेत कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।

















