पताल गंगा पर्यटन केन्द्र बनाउने नारा, विजय यादव निर्विजको घोषणा

नवलपुर टुडे
२०८२ फाल्गुन १० | मध्यान्ह ०७:११ बजे

बारा, फागुन १० । “जनताको हक, जनताको अधिकार-विकासमा आम जनता पार्टीको व्यवहार” भन्ने नारासहित आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले बारा जिल्लाको प्रसिद्ध धार्मिक तथा प्राकृतिक स्थल पताल गंगा क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने महत्वाकांक्षी योजनासहित चुनावी मैदानमा उत्रिएका छन्।
चुनावी अभियानका क्रममा कोल्हवी नगरपालिका वडा नं. ३ जुअवा जतहा, वडा नं. ५ सखुवा, सोनाभार तथा वडा नं. ६ प्रसौना बजारमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा उम्मेदवार यादवले पताल गंगाको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्व संरक्षण गर्दै आधुनिक पर्यटन पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार पताल गंगा क्षेत्रमा सडक पहुँच विस्तार, व्यवस्थित पार्किङ स्थल, यात्रु विश्राम गृह, शौचालय, खानेपानी सुविधा, सुरक्षा व्यवस्था तथा सूचना तथा पर्यटक केन्द्र स्थापना गरिनेछ। साथै, क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।
“पताल गंगा केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, बारा जिल्लाको आर्थिक विकासको ठूलो सम्भावना बोकेको क्षेत्र हो। यसलाई योजनाबद्ध रूपमा विकास गरियो भने हजारौँ स्थानीय युवालाई रोजगारी सिर्जना हुनेछ र स्थानीय व्यापार व्यवसाय फस्टाउनेछ,” यादवले भने। उनले पताल गंगा क्षेत्रको ऐतिहासिक पहिचान र धार्मिक परम्परालाई जोगाउँदै पर्यटनमैत्री संरचना निर्माण तथा हरित वातावरण संरक्षणलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाए। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले लामो समयदेखि पताल गंगा क्षेत्रलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न माग गर्दै आएको उल्लेख गर्दै यादवको योजनाले जनस्तरमा आशा र उत्साह थपिएको बताएका छन्।
आम जनता पार्टीले बारा–१ मा पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई मुख्य चुनावी एजेन्डा बनाउँदै घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाएको छ। पार्टीले “विकास, समानता र न्याय—आम जनता पार्टीको आधार” भन्ने नारासहित जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

















