हेलिकोप्टरमार्फत मुगु आइपुग्यो मतपत्र

नवलपुर टुडे
२०८२ फाल्गुन १० | मध्यान्ह ०२:११ बजे

मुगु । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रयोग हुने मतपत्र हेलिकोप्टरमार्फत मुगुमा आइपुगेको छ। भौगोलिक कठिनाइका कारण स्थलमार्गबाट ढुवानी सम्भव नभएपछि मतपत्र हवाई मार्गबाट ल्याइएको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्र सुरक्षित रूपमा मुगु जिल्ला भित्र्याइएपछि निर्वाचन तयारीको काम तीव्र बनाइएको छ। मतपत्रसँगै सुरक्षा व्यवस्था कडा पारी भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।
तर, मतदानका लागि आवश्यक अन्य सामग्रीहरू मतपेटिका, मसी, सिल, फारामलगायतका अन्य निर्वाचन सामग्रीहरू भने जुम्लाबाट ढुवानी हुने बताइएकाे छ।
निर्वाचन कार्यालयले सबै सामग्री समयमै जिल्लामा पुर्याई निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्ण तयारी गरिने जनाएको छ।






















