देश

गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, रौतहट तनावबारे छलफल

नवलपुर टुडे
२०८२ फाल्गुन ९ | मध्यान्ह ०६:११ बजे

काठमाडौं, फाल्गुन ९ । मुलुकको पछिल्लो सुरक्षा अवस्था, शान्ति सुरक्षाका चुनौती र आसन्न निर्वाचनको सुरक्षा तयारीका सम्बन्धमा छलफल गर्न गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मन्त्रालयमा बैठक बसेको हो।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै नेपाली सेनाका उच्च पदाधिकारी र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ।

बैठकमा मुलुकको समग्र सुरक्षा स्थितिको समीक्षा गर्दै विशेषगरी मधेस-तराई क्षेत्रमा देखिएका जातीय र धार्मिक संवेदनशीलता एवं त्यसले उत्पन्न गर्न सक्ने थप सुरक्षा जोखिमका बारेमा विस्तृत छलफल भइरहेको छ।

गृह मन्त्रालयका अनुसार सामुदायिक तनाव र निर्वाचनको मुखमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूबीचको समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय बैठकको मुख्य एजेन्डा रहेको छ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अपनाउनुपर्ने विशेष सुरक्षा रणनीतिका बारेमा समेत सुरक्षा प्रमुखहरूले गृहमन्त्रीलाई व्रिफिङ गरेका छन्।

कमेन्टहरु