मनाङको प्रकाश ज्योति आवासीय उच्च मावि र गुल्मीको सत्यवती माविमा जलवायु मापन जडान


मनाङ । मनाङको नासो गाउँपालिका थोंचेको प्रकाश ज्योति आवासीय उच्च मावि र गुल्मीको सत्यवती गाउँपालिका–५ हँसराको सत्यवति माविमा जलवायु मापन (तापक्रम तथा वर्षा मापन केन्द्र) स्थापना भएको छ ।
त्रिभुवन विश्व विद्यालय कीर्तिपुरका तीन विभागहरु क्रमशः जल तथा मौसम केन्द्रीय विभाग, भूगर्भ केन्द्रीय विभाग र मानवशास्त्र केन्द्रीय विभाग र लुसान विश्वविद्यालय स्विट्जरल्याण्डको संयुक्त आयोजनामा नेपालपाइन परियोजना अन्तर्गत सो केन्द्र स्थापना गरिएको हो मानवशास्त्री उप–प्राध्यापक जीवन पौडेलले बताए ।
उक्त केन्द्रबाट आद्रता, तापक्रम तथा वर्षासम्बन्धी आधिकारिक तथ्याङ्क संकलन हुनेछ । यो केन्द्र स्थापनाले मनाङको नासों र गुल्मीको सत्यवती गाउँपालिकासहित समग्र मनाङ र गुल्मी जिल्लाका लागि उपयोगी सूचना उपलब्ध हुने पौडेलले बताए।
उनले यो केन्द्रले विद्यार्थी र शिक्षकहरुका लागि अनुसन्धानमूलक तथा व्यवहारिक सिकाइ वातावरण सुदृढ गर्ने अपेक्षा गरिएको बताए ।
विद्यालयका शिक्षक र विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट उपस्थित भौगर्भिक विज्ञ डा. कबिराज पौड्याल, मौसम तथा जलवायु विज्ञ डा. बिनोद दवाडी, मानवशास्त्री डा. जीवन पौडेल सहितको टोलीले उपयोगीताको बिषयमा सहजीकरण गरेका थिए।
टोलीले मनाङको मस्याङ्दी नदी र गुल्मीको बडिगाड नदी क्षेत्र, रुद्रबेणी–वामी सडकखण्ड तथा आसपासमा पहिरोका कारण र न्यूनीकरण उपायबारे स्थलगत अवलोकनसहित महत्त्वपूर्ण जानकारी प्रदान गरेको थियो।






















